सत्तामा पुगेपछि क्रान्तिकारी नेताहरु गुलियोमा झिँगा डुबेझैँ भ्रष्टाचारमा डुबे – डा. भट्टराई

डडेल्धुरा– जनसंवाद यात्राका क्रममा डडेल्धुरा आइपुगेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले क्रान्तिकारी नेता सत्तामा पुगेपछि भ्रष्ट हुँदै गएको  टिप्पणी गरेका छन् । 

‘हामी सबै पार्टीका साथीहरु क्रान्तिकारी हौँ, सबै साथी जेल बस्नु भएको हो,’ क्रान्तिकारी नेताहरुले सत्तामा पुगेपछि आफ्नो निष्ठा र आदर्श भुलेर भ्रष्टाचार गरेको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘तर, सत्तामा पुगेपछि सबैको रेकर्ड राम्रो छैन । जानेर होस् वा नजानेर भ्रष्टाचार भयो ।’

०४६/४७ मा कांग्रेस, ०५४/५५ मा तत्कालीन एमाले र ०६३/६४ पछि तत्कालीन माओवादी सत्तामा गएको स्मरण गर्दै डा. भट्टराईले  सत्तामा पुगेपछि सबैले आफ्नो आदर्श बिर्सिएका बताए । 

‘जसरी गुलियोमा डुबेको झिँगा उड्न सक्दैन, त्यसरी नै क्रान्तीकारी साथीहरु सत्ताको चास्नीमा डुबेर ठूला–ठूला भ्रष्टाचार प्रकरण भएको हामीले देखेका छौं,’ उनले थपे । 

हिजोका क्रान्तिकारी भनिने कम्युनिस्ट र लोकतन्त्रवादी भनिने कांग्रेसका नेताहरुले पञ्चायत र राणाकालको जस्तै भ्रष्टाचार काण्ड मच्चाएको उनले बताए । चाहे वाइडबडी काण्ड होस्, चाहे बुढीगण्डकी प्रकरण, हाकाहाकी भ्रष्टाचार भएको उनको टिप्पणी छ । 

राजश्वको रक्षा गर्ने जिम्मेवारी पाएका व्यक्तिहरुले नै आफ्ना आसेपासेलाई मिलाएर खाएको र दलीय भागबन्डाका कारण भ्रष्टाचार नियन्त्रण गर्न बसेका निकायसमेत निकम्मा भइसकेका भन्दै डा. भट्टराईले दुःखेसो पोखे । अब देशमा सशक्त जनलोकपाल आवश्यक भएको उनको तर्क छ ।





  • प्रकाशित मिति : फागुन १४, २०७५ मंगलबार १६:४९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया