बागमतीका मुख्यमन्त्री भन्छन्- गाउँलाई समृद्ध बनाउने नीति तथा कार्यक्रम ल्याउँदैछौँ
फाइल तस्बिर

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पाँच वर्षको प्रदेश सरकारको उपलब्धि समीक्षा गरेर सबैको सुझावलाई समेटेर नीति तथा कार्यक्रमसँगै बजेटको समेत तयारी भइरहेको बताएका छन् । उनले सबै मन्त्रालयहरूलाई सिलिङ उपलब्ध गराउँदै नीति कार्यक्रमसँगै बजेटको तयारी पनि सुरु गरिसकेको बताए । 

आम नागरिकले महसुस गर्न पाउने नीति तथा कार्यक्रमको तयारी गरिरहेको उनले बताए । ‘हामी परिणाम देखिने र आम नागरिकलाई छुने गरी नीति कार्यक्रम ल्याउने तयारीमा छौँ’, उनले भने, ‘प्राप्त सुझावहरुका आधारमा हामी अघि बढ्नेछौँ ।’ नीति तथा कार्यक्रमको तयारीका लागि पनि सबै दलहरूसँग छलफल र सुझाव सङ्कलन गरिरहेको उनले जानकारी दिए । व्यक्तिभन्दा पनि समूह र गाउँ नै समृद्ध बनाउने अभियान प्रदेश सरकारले लिएको उनको भनाइ छ ।

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबारे प्रदेश सरकारले प्रदेशसभामा आबद्ध राजनीतिक दलहरुसँग सुझाव सङ्कलन गरिसकेको र उनीहरुको सुझावलाई नीति तथा कार्यक्रममा समेटिने उनले बताए । उनले नीति तथा कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित विशेष कार्यक्रम तथा परिणाममुखी नीति कार्यक्रम ल्याउन सुझाव लिइएकोसमेत बताए ।

बजेट बनाउन सुरु
बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणको काम सुरु गरेको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको सिलिङ मन्त्रालयहरुमा पठाएपछि बजेट पनि तयार गर्न थालिएको हो ।

मन्त्रालयहरुले गत आर्थिक वर्षमा प्राप्त गरेको बजेटको सिलिङभन्दा १० प्रतिशत कम बजेटको सिलिङ प्राप्त गरेका छन् । प्रदेशको ११ वटा मन्त्रालयहरूले पनि आफ्ना मातहतका कार्यालयहरुमार्फत बजेट बनाउने काम सुरु गरेका छन् ।

प्रदेशका पाँचवटा मन्त्रालयमा मन्त्री नभए पनि बजेट र नीति तथा कार्यक्रमहरू भने तयार गर्न थालिएको छ । प्रदेशका सबै मन्त्रालयहरुमा बजेटको सिलिङ पठाइ सकिएको र बजेट बनाउने काम सुरु गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बताए । ११ मन्त्रालयलाई सिलिङ बजेट तोकेर योजना माग गरिसकेको उनको भनाइ थियो । प्रदेशका ६  मन्त्रालयमा मात्रै मन्त्री छन् । बाँकी पाँचवटा मन्त्रालय भने मुख्यमन्त्रीको जिम्मेवारीमा छन् । मन्त्री नभएका मन्त्रालयमा पनि बजेटको तयारी भइरहेको छ ।



प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेटको तयारी अगाडि बढाएको हो । बागमती प्रदेश सरकारले चालु आवका लागि रु ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएको थियो । सरकारले चालू आवको नौ महिनामा पूँजीगत खर्च १७ दशमलव  ३६ प्रतिशत गर्न सकेको छ । 



  • प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार १२:३६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया