विद्यार्थीलाई आइटी क्षेत्रमा अब्बल बनाउँदै डिजी स्कुल

काठमाडौंको पुरानो सिनामंगलमा रहेको नेक्सस स्कुलले डिजी प्रोग्राम (पाठ्यक्रम) सञ्चालन गरेको दुई वर्ष पूरा भएको छ । सुरुमा कक्षा १ देखि ४ सम्म डिजी स्कुलको पाठ्यक्रम सञ्चालन गरेको यस स्कुलले चालू शैक्षिक वर्षदेखि कक्षा ६ मा पनि सो पाठ्यक्रम लागू गरेको छ । डिजी स्कुलको उक्त पाठ्यक्रम विद्यार्थीका लागि प्रभावकारी देखिएपछि नेक्ससले उक्त पाठ्यक्रमको अध्यापनलाई हरेक वर्ष क्रमबद्ध रूपमा माथिल्लो कक्षाहरूमा सञ्चालन गरेको हो । 

चालू शैक्षिक सत्रदेखि कक्षा ६ मा डिजी प्रोग्राम सञ्चालन गरेका उक्त स्कुलले आगामी शैक्षिक सत्रबाट कक्षा ७ मा लागू गर्ने योजना बनिसकेको नेक्सस स्कुलका प्रिन्सिपल आरबी कटुवालले जानकारी दिए । नेपाल सरकारले निर्माण गरेका कम्प्युटर सम्बन्धी पाठ्यक्रमभन्दा डिजी स्कुलको पाठ्यक्रम राम्रो र प्रभावकारी भएको उनले बताए । 

डिजी प्रोग्राममा विद्यार्थीले डिजाइन, कोडिङ, डिकोडिङ, भिडियो इडिटिङ, ग्राफिक्स डिजाइन र एप्स बनाउन सक्ने भएकाले पनि विद्यार्थीले यसमा बढी चासो देखाएको उनको भनाइ छ । पछिल्लो पुस्ताका बालबालिकाले प्रविधिमा निकै चासो राख्ने स्वभावका हुने भएकाले पनि डिजी प्रोग्राम प्रभावकारी देखिएको उनले बताए । विद्यार्थीमा प्रभावकारी देखिएपछि उक्त पाठ्यक्रमलाई माथिल्ला कक्षाहरूमा पनि सञ्चालन गरिँदै लगिएको प्रिन्सिपल कटुवालको भनाइ छ । उनका अनुसार आइटीका शिक्षकलाई तालिम दिएर विद्यार्थीलाई अध्यापन गराइएको छ ।

उनले भने, ‘कक्षा १ देखि ४ सम्म पहिलो पटक सुरु गरेका थियौँ । त्यसपछि कक्षा ५ मा पढायौँ, यस वर्षदेखि कक्षा ६ मा अध्यापन सुरु गरेका छौँ । विद्यार्थीमा प्रभावकारी देखिनुका साथै उनीहरुको रोजाइमा परेपछि हरेक वर्ष माथिल्लो कक्षामा उक्त विषयको अध्यापनलाई अघि बढाएका छौँ ।’

अहिलेको समयमा आइटी क्षेत्रलाई निष्क्रिय बनाउन नसकिने बताउँदै प्रिन्सिपल कटुवालले यसलाई अझ राम्रो र प्रभावकारी बनाउँदै लैजाने योजनामा स्कुल रहेको जानकारी दिए ।



यस्तै, गत शैक्षिक सत्रदेखि डिजी स्कुलको पाठ्यक्रम सञ्चालन गरेको बनेपाको विद्यासागर स्कुलले पनि डिजी प्रोग्रामको पाठ्यक्रम चित्तबुझ्दो लागेपछि सञ्चालनमा ल्याएको जनाएको छ । नेपालमा निर्माण भएका कम्प्युटरसम्बन्धी पाठ्यक्रमले विद्यार्थीलाई साधारण कुरामा बढी केन्द्रित गरेको, तर डिजी प्रोग्रामले विद्यार्थीलाई आइटीसम्बन्धी ज्ञान प्रयोगात्मक रूपमै दिने भएकाले उक्त पाठ्यक्रम सञ्चालनमा ल्याएको स्कुलका प्रिन्सिपल हिरा शर्माले बताए । उक्त पाठ्यक्रमले आफैंले केही गर्न सकिन्छ भन्ने भावना विद्यार्थीमा ल्याउने खालको रहेको उनको भनाइ छ ।



उनले भने, ‘विद्यार्थीका लागि राम्रो छ । हामीले कक्षा १ देखि ८ सम्म सञ्चालन गरेका छौँ । यस पाठ्यक्रममा प्रोजेक्ट वर्क, एप्स बनाउन सकिने, कोडिङ, डिकोडिङ लगायत थुप्रै कुरा सिक्न पाइने भएकाले विद्यार्थीले पनि रूचि देखाएका छन् ।’

अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम भएकाले पनि विद्यार्थीहरूमा प्रभावकारी देखिएको उनको भनाइ छ । स्कुलले दुई वटा ल्याब बनाएर उक्त पाठ्यक्रमको अध्यापन गराइरहेको छ । डिजी स्कुलले नै शिक्षकहरूलाई तालिम दिएर उक्त विषयको अध्यापनका लागि तयार बनाउने भएकाले कुनै समस्या नरहेको उनले बताए । 

डिजी स्कुलले तयार पारेको उक्त पाठ्यक्रममले विद्यार्थीलाई आइटी सेक्टरमा प्रोत्साहन गरिरहेको उनको अनुभव छ । यो कोर्सले विद्यार्थीलाई स्वरोजगार बनाउनुका साथै आत्मनिर्भर बनाउन सक्ने उनको बुझाइ छ । उक्त पाठ्यक्रमले विद्यार्थीको कम्प्युटर सिकाइमा राम्रो प्रभाव पारेको अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले बताइन् । उनले भनिन्, ‘कोडिङ, डिकोडिङ गर्न, प्रोजेक्ट बनाउन विद्यार्थीले सानै उमेरबाट सिक्न पाउँछन् ।’ 

यो पाठ्यक्रम सञ्चालन गरेपछि कक्षा ६ मा पढ्ने विद्यार्थीले कोडिङ, डिकोडिङ गर्ने, एप्स बनाउने गरेको उनले बताइन् । उनका अनुसार स्कुलमा विगत तीन वर्षदेखि यो पाठ्यक्रम सञ्चालन भइरहेको छ । कक्षा १ देखि ९ सम्म डिजी प्रोग्राम सञ्चालन गर्दा विद्यार्थीले आइटीसम्बन्धी राम्रो ज्ञान हासिल गरिरहेको उनको अनुभव छ ।

के हो डिजी स्कुल ?

बेलायत सरकारमातहत दर्ता भएर विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स ‘डिजी प्रोग्राम’लाई ‘डिजी स्कुल’ नाम दिएर सन् २०२० मा नेपालमा भित्र्याइएको हो । यसलाई सफ्टवेरिका कलेज अफ आइटी एन्ड इ–कमर्सले नेपालमा भित्र्याएको हो ।
डिजी स्कुलले कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि पाठ्यक्रम तयार पारेको छ । हाल नेपालमा करिब एक सयवटा स्कुलहरूले यस पाठ्यक्रमको अध्यापन गराइरहेका छन् ।

उक्त पाठ्यक्रममा जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्डवेयर मर्मतलगायतको ज्ञानसँगै सीप सिक्न पाइन्छ । अनलाइन र अफलाइन दुवै प्रणालीबाट पनि यो पाठ्यक्रमको अध्ययन गर्न सकिने डिजी स्कुलले जनाएको छ ।

नेपालमा यसरी भित्रियो डिजी कोर्स 

माध्यमिक तह (कक्षा १०)को शिक्षा उत्तीर्ण गरेपछि मात्र कम्प्युटर शिक्षा सिक्न जाने शैक्षिक परिवेश रहेको हाम्रो देशमा विद्यालय तहदेखि नै त्यसको अध्यापन गराउने उद्देश्यले डिजी कोर्सलाई नेपाल भित्र्याइएको हो ।

स्नातक तहमा आइटी पढ्न आउने विद्यार्थीमा आइटी सम्बन्धी न्यूनतम ज्ञानसमेत नभएको देखिएपछि विद्यालय तहबाट नै यसको सुरुवात गर्नुपर्छ भन्ने लागेर यो कोर्सलाई नेपाल भित्र्याइएको डिजी स्कुलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजु बानियाँले बताए ।

कक्षा १२ मा एकैपटक आइटी पढ्नुपर्ने बाध्यतालाई अन्त्य गर्न विद्यालय तहदेखि नै आइटीसम्बन्धी कोर्सलाई मुख्य विषयमा राख्नुपर्छ भन्ने महसुस भएपछि यो कोर्स ल्याउने योजना बनेको उनले बताए ।

नेपालमा अध्यापन भइरहेको आइटी शिक्षाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले २१औँ शताब्दीको आइटी शिक्षा दिनुपर्छ भन्ने उद्देश्यले यो कोर्सलाई नेपाल भित्र्याइएको बानियाँले बताए ।

कक्षा १ देखि १२ सम्म यो कोर्सले आइटीमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सहयोग गर्ने उनको भनाइ छ । उनले भने, ‘यो २१औँ शताब्दीको नागरिक बन्न सहयोग गर्ने खालको कोर्स हो ।’

यो कोर्स लागू गर्ने स्कुलका शिक्षकलाई कक्षा कोठामा कसरी विद्यार्थीलाई अध्यापन गराउने भनेर डिजी स्कुलले नै तालिम दिने गरेको छ । नेपालका स्कुलमा डिजी स्कुलको कोर्स सञ्चालन गर्न एनसिसी यूकेसँग अनुमति लिनुपर्ने प्रावधान छ । 

उनले भने,‘त्यसको लागि डिजी स्कुलले सहजीकरण गर्छ । एनसिसीबाट सम्बन्धन प्राप्त गरेपछि मात्र डिजी स्कुलले सम्बन्धनप्राप्त स्कुलका शिक्षकलाई आवश्यक तालिम दिने, विद्यालयमा पुगेर सहयोग गर्ने काम हुन्छ ।’

यो कोर्सको अध्ययन गर्ने विद्यार्थीले एनसीसी यूकेबाट अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र पनि प्राप्त गर्ने उनले बताए । उनका अनुसार यो कोर्स अध्ययन गर्ने विद्यार्थीले अन्तर्राष्ट्रिस्तरका प्रोजेक्ट बनाएका छन् ।

त्यसलाई देख्दा यो कोर्स प्रभावकारी देखिएको छ भन्ने आफ्नो बुझाइ रहेको सिइओ बानियाँले बताए । यो कोर्स उच्च शिक्षामा आइटी विषय पढ्नलाई निकै सहयोगी बन्ने उनको दाबी छ । उनले भने, ‘विद्यालय तहमा गुणस्तरीय आइटी शिक्षासम्बन्धी अध्यापन नभएको महसुस भएपछि यो कोर्स ल्याएका हौँ ।’

नेपालको आइटी क्षेत्रलाई उकास्न डिजी स्कुलको पाठ्यक्रमले सहयोग गर्छ : विज्ञान श्रेष्ठ

विद्यालय तहदेखि नै आइटी सेक्टरमा विद्यार्थीलाई जोड्ने उद्देश्यले उक्त पाठ्यक्रम तयार गरिएको डिजी स्कुलका अध्यक्ष विज्ञान श्रेष्ठले बतए । विद्यार्थीलाई आइटी सेक्टरमा प्रोत्साहन गरेर स्वरोजगार बनाउनुका साथै नेपाललाई आइटी क्षेत्रमा अब्बल बनाउन यस पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ । उनका अनुसार विद्यालय तहदेखि नै विद्यार्थीलाई कम्प्युटरसम्बन्धी ज्ञान र सीप सिकाउने व्यवस्था नभएकाले उक्त कुरालाई परिपूर्ति गर्न डिजी स्कुलले उक्त पाठ्यक्रम नेपालमा भित्र्याएको हो । उनले भने, ‘विद्यार्थीलाई सानो कक्षादेखि नै ग्राफिक डिजाइन, कोडिङ, मोबाइल एप्लिकेसन, मोबाइल, कम्प्युटर रिपेयरिङ गर्न सिकाउने यस पाठ्यक्रमका मुख्य विशेषता हुन् ।’

यसरी बालबालिकालाई विद्यालय तहदेखि नै आइटी क्षेत्रमा प्रवेश गराउन सकेको खण्डमा उनीहरूलाई स्वरोजगार गराउन सकिने उनले बताए । उनले भने,‘संसारका कतिपय देशहरूमा कक्षा ७/८ मा अध्ययन गर्दै गरेका बच्चाहरूले वेबसाइट बनाएर पैसा कमाउन थालिसकेको अवस्था छ । नेपालमा पनि त्यसरी विद्यार्थीलाई स्वरोजगार बनाउन सकिन्छ ।’

अहिले देशभरका करिब २० हजार विद्यार्थीले डिजी स्कुलको कोर्स पढिरहेका छन् । अबको दुई/तीन वर्षमा एक लाखभन्दा बढी विद्यार्थीले डिजी स्कुलको कोर्स पढ्छन् भन्ने आफ्नो अनुमान रहेको उनले सुनाए । पछिल्लो समय यो कोर्सको माग  बढिरहेको उनको भनाइ छ ।

आइटी शिक्षालाई बलियो बनाउन र सरकारको डिजिटल नेपालको सपनालाई साकार गर्न यस पाठ्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष श्रेष्ठले बताए । नेपालको आइटी क्षेत्रलाई माथि उकास्नुका साथै अर्थतन्त्रमा टेवा पुर्याउन समेत यो पाठ्यक्रमले सहयोग गर्ने उनको दाबी छ । सरकारको डिजिटल नेपालको सपना साकार गर्न आइटी क्षेत्रलाई उकास्न सरकार र निजी क्षेत्रको सहकार्य हुन आवश्यक रहेको उनले बताए ।

  • प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार १७:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया