कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरले आयोजना गरेको पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोड गरेको उनले आरोप लगाए । सरकारको गठन भएको ५२ दिन एवं प्रदेशसभाको १३औँ बैठकबाट पाँच वर्षसम्म राख्न नसकिएको प्रदेशको नाम टुंग्याएको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी नाम ठीक छ भने नगरका बुद्धिजीवी, प्रौढ एवं नगरवासीले यसको समर्थनमा शान्तिपूर्ण रूपमा सडकमा आउन आग्रहसमेत गरे ।
बहुभाषिक, बहुजातीय, विविध भौगोलिकता र एक सय २८ जातजाति बसोबास गर्ने यो मुलुकको हो भन्दै विविधताबीच एकता नै नेपालको गहना भएको प्रस्ट पारे । मुख्यमन्त्री कार्कीले भने, ‘नेपालमा सबै जातजातिले एक अर्काको भाषा, धर्म र संस्कृत सम्मान गर्ने हामीहरुको एतिहासिक परिचय रहेको छ ।’
सरकारले विराटनगरको एतिहासिक पहिचानलाई कायम राखी आधुनिक पहिलो सहरको रुपमा बनाउनका लागि उपलब्ध स्रोत र साधनले भ्याएसम्म आवश्यक भौतिक संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले समाजको प्रगति, शान्ति, विकासमा योगदान नागरिकसँग आग्रह गरे ।
पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता जयराम यादवले प्रदेशको नामकरण कानुनसम्मत रहेको छ भन्दै सत्यको पक्षमा नगरवासी लाग्नुपर्नेमा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।