सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । शुक्रबार एकसाथ सुरु हुने खेलमा संकटाले नेपाल पुलिस क्लब तथा हिमालयन शेर्पाले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछन् ।
संकटा र पुलिसबीचको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा सुरु हुनेछ । पुछारमा रहेको पुलिस आज संकटाविरुद्ध जित निकाल्दै रेलिगेसन जोनबाट माथि उठ्न चाहन्छ । उसले अहिलेसम्म १६ खेलबाट १६ अंक नै जोडेको छ ।
यस्तै, १० औँ स्थानको संकटाले १६ खेलबाट २० अंक जोडेको छ । ऊ पुलिसविरुद्ध उत्कृष्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्ने योजनामा छ ।
दिउँसो ३ बजे नै हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लब भिड्नेछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा यी दुवै टिमका लागि महत्वपूर्ण छ । अहिले मनाङ–हिमालयन समान २० अंक छ ।
तालिकाको कुरा गर्दा भने मनाङ आठौँ र हिमालयन नवौँ स्थानमा छन् । आज जित हात पार्दै माथिल्लो स्थानमा उक्लिने दुवै टिमको योजना छ । पहिलो लेगमा मनाङ र हिमालयनले बराबरी खेल्दै अंक बाँडेका थिए ।
आज हुने तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) र एफसी खुमलटार प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ । अहिले खुमलटार १३ औँ (रेलिगेसन जोन) मा छ ।
यस्तै, एनआरटी १२ औँ स्थानमा छ । आज दुवै टिमको लक्ष्य जित निकाल्दै अंक तालिकामा सुधार गर्नु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।