logo-img

चलचित्र ‘हल्कारा’ आजदेखि प्रदर्शनमा

गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’ को कथामा बनेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ । कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिए । उनले नेपालमा गरिएका सोमार्फत चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको बताए ।  

‘हामीले देखाउन खोजेको विषयलाई दर्शक बनेर विशेष प्रदर्शनीमा हेर्नु भएकाले महसुस गर्नुभयो । सार्वजनिक प्रदर्शनमा पनि दर्शकको मन जित्नेमा विश्वस्त छौँ,’ उनले भने, ‘हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रमा वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ ।’ 

हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरिएको सो चलचित्रमा गाउँको परिस्थिति र सामाजिक सचेतना पनि समेटिएको छ । निर्देशक सापकोटा नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउनेमा विश्वस्त छन् । उक्त चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।  

चलचित्रमा शीर्षभूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गरेका छन् । हुलाकीलाई बाल्यकालमा देख्नुभएका अभिनेता त्रिपाठीलाई चरित्र निर्माण गर्न निर्देशक सापकोटाले पटकथामा तयार पार्नुभएको पात्रले सहज बनायो । ‘चलचित्रले बाल्यकालको स्मृतिलाई ताजा बनायो । हुलाकीसँग जोडिएको सन्दर्भ सम्झेँ । आफ्नो पात्रलाई पढेपछि बाध्यता र स्थितिलाई महसुस गरेँ,’ त्रिपाठीले भने ।



चलचित्रमा विनिता थापामगरले अर्को महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । चलचित्र लेखन निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बरालले गरेक हुन् । चिन्तन राजभण्डारी छायाँकार रहहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । 

चलचित्रलाई जिजीए समूहअन्तर्गत रहेर करण श्रेष्ठले वितरण गरेका हुन् । 





  • प्रकाशित मिति : वैशाख २९, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया