सरकारले उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गर्नुपर्छ : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्ण रुपमा निःशुल्क गराउन सक्नुपर्ने बताएका छन् । शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘उच्च शिक्षामा नेपालको सरकारले पूर्ण रुपमा निःशुल्क गराउन सक्नुपर्छ । आफ्नो आवश्यकता बमोजिम प्राविधिक र गैर प्राविधिक क्षेत्रमा अघि बढाउनुपर्छ । हाम्रो आवश्यकता हो । हामीले त्यो आवश्यकताका निम्ति त्यस्ता विज्ञ व्यक्ति तयार गर्नसक्छौँ र बाहिर हामीले पठाएर वैदेशिक मुद्रा आर्जन गर्नसक्ने गरी हामी जानुपर्छ ।’

उनले आफ्नो आवश्यकता बमोजिम सरकारले प्राविधिक र गैर प्राविधिक क्षेत्रमा लगानी बिस्तार गरी काम अघि बढाउनुपर्ने बताए। उनले देशको लागि आवश्यक जनशक्ति यहीँ नै उत्पादन गर्नसके मात्रै शिक्षा क्षेत्रको विकास हुने बताए । उनले सरकारले स्वदेशमा नै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने बताए । उनले शैक्षिक शक्ति निर्माण गर्न र विश्वमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति निर्माण गर्ने कुराको ग्यारेन्टी विश्वविद्यालयले लिन सक्नुपर्ने पनि बताए ।

‘नपढेका, नजानेका हस्ताक्षर गर्न नसक्ने व्यक्ति जानु भन्दा त यस्ता मानिस जानु हाम्रो निम्ति गौरवको विषय हुन्छ । त्यस्तो शैक्षिक शक्ति कति उत्पादन गर्ने ? कति हाम्रो देशको निम्ति आवश्यकता छ ? यो दिशामा नगइकन शिक्षामा विकास हुन सक्दैन’, उनले भने, ‘सरकारले ख्याल गर्नुपर्छ की किन विदेश जाने पढ्नको लागि बन्द गर्न सकिँदैन ? र विश्वविद्यालयले भन्न सक्नुपर्छ,  हामी उच्च शिक्षाको निम्ति संसारको कुनै पनि ठाउँमा प्रतिस्पर्धा गर्नसक्ने शिक्षा हामी प्रदान गर्नसक्छौँ, हामी तयारी गर्छौँ । त्यसको निम्ति कस्तो नीति चाहियो, कस्तो आर्थिक सहायता चाहियो ? यो विषय आउनुपर्छ र सुन्नेले सुन्नुपर्छ ।’

सदस्य गौतमले नेपाललाई चाहिने विज्ञ जनशक्ति कसरी नेपालमा नै उत्पादन गर्ने भन्ने बारेमा राज्य संवेदनशील हुनुपर्ने बताए ।  





  • प्रकाशित मिति : बैशाख २९, २०८० शुक्रबार १६:११:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया