काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेताहरूले सडक नाटक बन्द गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने नीति बनाउनुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शनमा राजनीतिक दलका नेताहरूको पनि सहभागिता देखेपछि मेयर शाहले यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रने नेतालाई सिधै बागमतीमा लगेर चोपल्न पनि आग्रह गरेका छन् । भ्रष्टाचारविरुद्धको आन्दोलनमा को नेता सहभागी भएको छ र उसको घर कहाँ हो भनेर जान्न जरुरी रहेको पनि बालेनको भनाइ छ ।
‘भ्रस्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपल्नुस् । यस्तो सडक नाटक धेरैदेखि सक्यो हामीले ।पत्याउँदिन म चाहिँ,’ बालनेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई होइन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च ओहदामा रहेका नेता तथा कर्मचारी तानिएपछि काठमाडौंलगायत ठूला शहरमा प्रदर्शन भइरहेका छन् ।
शनिबार काठमाडौंमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको थियो । सो प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका नेताहरू पनि सहभागी भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।