नक्कली भुटानी शरणार्थी प्रकरण : म्याद थप्न रायमाझीलाई अदालतमा पेस गरिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीलाई म्याद थप गर्न आज अदालत लगिँदै छ । 

आइतबार राति काठमाडौं प्रहरी परिसर ल्याइएका रायमाझीलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई प्रहरीले अनुसन्धानका लागि म्याद लिन लागेको हो ।  

उनी पक्राउ पुर्जी जारी भएको ११ दिनपछि आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए । रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा पक्राउपर्नेको संख्या १३ पुगेको छ ।   

यस प्रकरणमा मुछिएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा पक्राउ गरिएको थियो । त्यसअघि १९ वैशाखमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई र २० वैशाखमा बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परे ।  

प्रहरीले उक्त घटनाका गिरोहहरू सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो । यही २६ वैशाखमा काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए ।  

घटनामा मुछिएर पक्राउ पुर्जी जारी भएका कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राई​का छोरा निरज फरार छन् । 



नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १ सयभन्दा बढी व्यक्तिले जाहेरी दिएका छन् । उनीहरूले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको जाहेरीमा उल्लेख गरेका छन् । 



  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार ८:८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया