हिमपातले चौँरी मर्न थालेपछि किसान चिन्तित

मनाङ– महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन् । 

जिल्लामा रहेका चौँरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मरेका हुन् । जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्ख्यामा रहेका चौँरी के–कति कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्याङ्क भने आएको छैन । 

कति जिउँदै बेपत्ता छन् भने केही मरेको भेटिन थालेका छन् । जिल्लाको माथिल्लो भेगमा रहेका चौँरीको त कहाँ कस्तो अवस्थामा छ भन्ने अत्तोपत्तो छैन । तल्लो भेगका चामे गाउँपालिका र नासों गाउँपालिकामा ४०० जति चौँरी बेपत्ता भएको र ६० भन्दा बढी मरेको चौँरीपालक सुरेश थकालीले बताउँछन् । 

उनका अनुसार नासों गाउँपालिकामा रहेको नाचेगाउँका बलबहादुर गुरुङ र काशीराम गुरुङको गोठबाट २०० चौँरी हराएका छन् । तिनीहरूको खोजीकार्य जारी रहेको छ ।

त्यस्तै तिमाङको वनमा रहेको पासाङ लामाको ३५ चौँरी तथा तिल्चेको लेकबाट ङिमाओङ्गेल पुनेल र धर्मजङ गुरुङको ६० चौँरीको अवस्था अज्ञात रहेको थकालीले बताए । 

‘एउटा चौँरीको रु एक लाख २० हजारभन्दा बढी मूल्य पर्दछ, यतिका धेरै चौँरी हराउँदा या मर्दा जो कसैले मन थाम्न सक्ला र ? केही गरौँला भनी पुख्र्यौली पेशा अँगालेका हौँ, खै दैव लागेपछि कसको के लाग्दोरहेछ ?’ स्थानीय धनबहादुर गुरुङले भने, ‘पाँच त आँखा अगाडि नै मरे भने अरु जिउँदैछन् कि मरिसके केही अत्तोपत्तो छैन । हिमपातले न खोज्न जान सकिएको छ न त चौँरी फर्किएर गोठमा आएका छन् ।’ 



चौँरीपालक किसानका अनुसार हिमपातले करोडौँभन्दा बढी नोक्सान पुर्याएको छ । हराएका चौँरीको नामोनिसान भेट्टाउन सकिएको छैन । ‘हिउँले पुरिएर बसेका छन् कि कतै भीरमा खसे केही अत्तोपत्तो भएन’, अर्का चौँरीपालक धर्मजङ गुरुङले भने, ‘खोज्नका लागि पनि दिनदिनै जस्तो हिमपात भइरहेको छ । हिँड्डुल गर्न नै गाह्रो छ । कसरी जाने ?’ उनका अनुसार जिउँदै भए पनि यतिका दिनसम्म भोकभोकै मरिसके होलान् ।'

तल्लो मनाङका ताल, नाचे, तिल्चे, ओढार र तिमाङलगायतका ठाउँमा मात्रै ४०० चौँरी हराएका तथा तथा मरेको तथ्याङ्क किसानहरूको छ । माथिल्लो भेगमा त झन् कस्तो छ थाहा छैन । हिउँ पर्न रोकिएपछि मात्र यकिन तथ्याङ्क आउने चौँरीपालक सुरेश थकालीले बताए ।



  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार १०:३०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया