सीमित व्यक्तिले बैंकिङ क्षेत्रको स्रोत, साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखियो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत, साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘बैंकिङ क्षेत्रको विकास र विस्तारबाट देशमा वित्तीय पहुँच बढेको छ । कर्जा लगानीमा भएको वृद्धिबाट हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पनि पुगेको छ’, उनले भने, ‘तर बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिन्छ । त्यसैगरी सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत, साधनको उपयोग गर्ने, उपलब्ध स्रोत, साधन प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुने जस्ता समस्या पनि यस बिचमा राम्रैसँग देखिएका छन् ।’ 

उनले उपलब्ध स्रोत, साधनहरु अनुत्पादक र कम उत्पादक क्षेत्रहरुमा केन्द्रित हुँदा पनि अर्थतन्त्रमा समस्या देखिएको बताए । उनले बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिएको भन्दै यसतर्फ समयमै उचित कदम चाल्न ध्यानाकर्षण गराए । 

‘अहिले अर्थतन्त्रमा समस्या देखिनुमा यस्तै अनपेक्षित क्रियाकलाप पनि धेरै हदसम्म जिम्मेवार रहेका छन् । यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक छ’, उनले भने, ‘हाम्रो अर्थतन्त्रले आन्तरिक र बाह्य कारणले सिर्जना भएका चुनौतीको उच्चतम बिन्दु पार गरिसकेको छ । आगामी परिदृश्य राम्रो रहेको छ । पर्यटन प्रवर्द्धनमा गरिएको लगानी र कोभिड महामारीपछि विश्वभर पर्यटन क्षेत्रमा बढेको चहलपहलबाट आगामी शरद ऋतुमा नेपालको पर्यटन क्षेत्र कोभिड महामारीपूर्वकै अवस्थामा फर्कने प्रष्ट संकेत देखिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारी वृद्धितर्फ देशले प्रगति हासिल गर्न नसकेको बताए । उनले दैनिक उपभोग्य वस्तुहरुको ठुलो मात्रामा आयात गर्नुपरेकाले व्यापार घाटा चुलिँदै गएको उल्लेख गर्दै सरकारको नीति, योजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो भएको बताए । 

उनले भने, ‘उपभोग्य वस्तुहरूको ठूलो मात्रामा आयात गर्नुपरेकोले व्यापार घाटा चुलिँदै गएको छ । त्यसैगरी रोजगारीको खोजीमा प्रतिदिन ठूलो संख्यामा नेपाली युवाहरु विदेशिनु परेको अवस्था छ । यसो हुनुमा हाम्रो नीति, योजना र कार्यक्रम तथा तिनको कार्यान्वयन प्रभावकारी हुन नसक्नु प्रमुख कारण हो भन्न हामीले अप्ठ्यारो मान्नु हुँदैन । यस अवस्थालाई मनन गरि अब हामीले हाम्रा नीति, योजना र कार्यक्रममा पुनरावलोकन गर्ने स्थिति देखिएको छ ।  प्रभावकारी हुन नसकेको कतिपय कार्यक्रमहरुलाई खारेज गरेर नयाँ कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ र सरकार त्यसै दिशातिर अगाडि बढ्दैछ ।’



उनले किसानहरूले बेलैमा मल पाउने गरी मलको आपूर्ति सुनिश्चित भएको बताए । त्यस्तै भ्रष्टाचारविरुद्ध सरकार गम्भीर रुपले लागेको उनको भनाई छ । 



  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १५:६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया