logo-img

राजेन्द्र लिङ्देनले भने- प्रधानमन्त्री विदेशीको इसारामा चल्दा हामीले सरकार छोड्यौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर सङ्कटतर्फ उन्मुख भएको बताएको छ ।

सोमबारबाट काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर सङ्कटतर्फ उन्मुख भएको बताए ।

उनले भने, ‘प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर सङ्कटतर्फ उन्मुख छ । मुलुकका तीन प्रमुख अंगहरुका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ । कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरूको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था होइन ।’

उनले मुलुकका तीन प्रमुख अंगहरुका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको जिकिर गरे । कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरूको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था नरहेको राप्रपाको ठहर छ । वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रूपमा खलबलिन पुगेको बताए ।

‘आफू भन्दा कमजोर छिमेकी युक्रेनमाथि रुसको आक्रमण जति भर्त्सनायोग्य छ, त्यत्तिकै हामीले यस घटनाबाट शिक्षा पनि लिनुपर्नेछ । वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण हाम्रो वैदेशिक सम्बन्ध पूर्ण रूपमा खलबलिन पुगेको छ’, उनले भने, ‘नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक स्थलमा परिणत भएको छ । सत्ता पक्ष र प्रमुख राजनीतिक दलका क्रियाकलापका कारण हुने नोक्सानीको मूल्य केवल राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन, सिङ्गो देशले चुकाउनु पर्छ ।’

अध्यक्ष लिङ्देनले आफूलाई अग्रगमनका संवाहक, लोकतन्त्रको पर्याय ठान्ने केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फसिरहेको उल्लेख गरे। उनले अकर्मण्य नेतृत्व, गलत नीति अदूरदर्शिता र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता सङ्कटग्रस्त बनेको उल्लेख गरे । ले देशमा बाह्य चलखेल तीव्र रूपमा बढेको, भ्रष्टाचारको चङ्गुलमा देश फसेको, लोकतन्त्रको आवरणमा नव सामन्तवाद र सर्वसत्तावाद हाबी भएको बताए । विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत भएको प्रमाणित भएको दाबी गरे ।



उनले भने, ‘भ्रष्टाचारको चङ्गुलमा देश फसेको छ । लोकतन्त्रको आवरणमा नव सामन्तवाद र सर्वसत्तावाद हाबी छ । विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत थियो भन्ने राप्रपाको ठहर देशमा विकसित घटनाक्रमले स्वतः प्रमाणित गरिदिएको छ । यस पटक पहिलो पटक नेपालका राजनीतिक दलले आफ्नै बलमा सरकार निर्माण गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्नु सकारात्मक हो, तर सरकारको नेतृत्व गरेका प्रधानमन्त्री स्वयं पुरानै अवस्थामा फर्किएर गोल चक्करमा परेपछि हामीले तत्काल सहकार्य छोडेका थियौँ ।’

अध्यक्ष लिङ्देनले यस पटक देश भित्रकै दलले सरकार निर्माण गर्न सक्छन् भन्ने प्रमाणित गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल विदेशीको इसारामा चल्दा सरकार छोडेर प्रतिपक्षमा बस्नुपरेको बताए ।  



  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १५:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया