काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका कुनै पनि कर्मचारीले घुस मागेमा प्रमाणसहित उजुरी दिन आह्वान गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्क नम्बर सार्वजनिक गर्दै उनले उजुरी आह्वान गरेका हुन् ।
उजुरीकर्तालाई ह्वाट्सएपमार्फत ९८६३५९२०११ नम्बरमा प्रमाणसहित आफूकहाँ आउन उनले आह्वान गरेका छन् । उनले यो मोबाइल आफूले मात्र बोक्ने भएकाले उजुरी पठाउनेको नाम गोप्य राखिने समेत स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्, ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगर पालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नुहोला भिडियो अडियोसहित ।’
कसैले विनाप्रमाण यसले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनुभन्दा पनि प्रमाण जुटाउन उनले सबैसँग आग्रह गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।