नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको बयान आज पनि लिइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिइँदैछ ।

सोमबार बयान नसकिएको भन्दै मंगलबार पुनः उनको बयान लिन लागिएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । 

खाणसँग सोमबार बिहान सरकारी वकिलको रोहबरमा बयान लिइएको थियो । पक्राउ परेको छैटौँ दिनमा मात्रै प्रहरीले उनको बयान लिन थालेको हो । 

बयान लिन अगावै खाणले सरकारी वकिल प्रमुख न्यौपानेलाई आफ्नो स्वास्थ्य अवस्था ठीक नभएको जानकारी गराएका थिए । उनलाई गत बुधबार प्रहरीले मैजुबहालबाट पक्राउ गरेको थियो । 

यसअघि आइतबार खाणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो । नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म खाण रायमाझी, पाण्डे र केसीसहित १४ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका दुई आरोपित भने फरार छन् । 

शरणार्थी प्रकरणमा जोडिएपछि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा पक्राउ गरेको थियो । १९ वैशाखमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।



उक्त घटनामा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी र छोरा सन्दीप रायमाझीलाई २० वैशाख नै पक्राउ पुर्जी जारी भएको थियो । त्यस दिन सन्दीप मात्रै पक्राउ परेका थिए । त्यसपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रहरीले आइतबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

२६ वैशाखमा काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । त्यसअघि गत चैतमा उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका थिए । उनीहरूकै बयानका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवको नाम मुछिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 



पक्राउ परेका डा. राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक हाल सम्पर्कविहीन छन् । 

शरणार्थी ठगी प्रकरणमा १ सय ६ जना पीडितले २० वटा जाहेरी दिएका छन् ।   

  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार ८:५०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया