शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरी छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।​

मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले क्याम्पसको शुल्क तिर्न नसकेर मर्नुपर्ने वाध्यताको अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् । उनले शिक्षा समितिले पनि यस बारेमा आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए । 

केही समयअघि मात्रै क्याम्पसमा शुल्क तिर्न नसकेकै कारण एक विद्यार्थीले आत्महत्या गरेका थिए । सोही प्रशंगलाई लिएर मन्त्री बस्नेतले क्याम्पस शुल्क तिर्न नसकेकै कारण मर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारले शिक्षालाई प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताए ।  

‘शुल्क तिर्न नसकेकै आधारमा कोही पनि विद्यार्थीले मर्नु नपर्ने स्थिति सरकारबाट सिर्जना हुनुपर्छ, त्यो वातावरण सरकारले निर्माण गर्नुपर्छ । समितिले यो कुरा अघि बढाउनुपर्छ । मैले आफ्नो जिल्लाका केही पालिकाहरूमा यसबारेमा भनिसकेको पनि छु,’ उनले भने, ‘यो विभिन्न खाले प्राकृतिक विपद्मा म धेरै खटिरहने मान्छे हो, बाढी, पहिरो, कोभिडलगायतको जोखिमबाट मुक्त हुन स्वास्थ्य क्षेत्रमा लगानी बढाइ स्वास्थ्य सेवा सर्वसुलभ र विस्तार गर्न जरुरी छ ।’ 

शिक्षा तथा स्वास्थ्य समितिको सभापतित्व ज्येष्ठ सदस्यको आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कालुराम राईले गरेका छन् ।  





  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार १३:२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया