आयोग बनाएर उच्चपदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्चपदस्थ राजनीतिक व्यक्ति र कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न माग गरेको छ । जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा बसेको राप्रपाको केन्द्रीय समिति बैठकले ०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका व्यक्ति र कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न सरकारसँग माग गरेको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न पनि राप्रपाले माग गरेको छ । बैठकको निर्णय जानकारी गराउँदै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले क्यान्टनमेन्ट घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइडबडी काण्डलगायत विभिन्न कालखण्डमा भएका भ्रष्टाचार काण्डको पनि फाइल खोल्न माग गरिएको बताए । 

राप्रपाको संगठन संरचनामा स्थानीय तहदेखि केन्द्रको माथिल्लो तहसम्म ४० वर्षमुनिका युवाहरुको सहभागितालाई सुनिश्चित गर्ने र सबै कमिटीमा कम्तीमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । 

राप्रपाले सरकारी कर्मचारीको संगठन नबनाउने, विद्यार्थी संगठनलाई शैक्षिक मुद्दामा मात्र केन्द्रित संगठन बनाउने र आगामी निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियामा प्राइमरी इलेक्सनबाट छनोट भएर आउने व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार १७:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया