अबिच्युरी
मैले छानेकामध्ये एक युवा नेता थिए रवीन्द्रः डा. बाबुराम भट्टराई

आज दिउँसो हेलिकोप्टर दुर्घटनामा पर्यो र त्यसमा सवार पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सबै यात्रुको निधन भयो भन्ने सुन्दा म निकै स्तब्ध र मर्माहत छु । यो त अकल्पनीय घटना भयो । यसले मलाई दुःखी बनाएको छ ।

मैले सधैं पार्टीभन्दा माथि उठेर अन्य पार्टीमा भएका वा विभिन्न विचारधारका मानिसलाई र विशेषगरि युवालाई अगाडि बढाउन प्रयास गरिरहेँ । मेरो यो प्रयास हिजो पनि हुन्थ्यो, अद्यापि छ ।

रवीन्द्रजी मात्र होइन उहाँलगायत युवा नेताहरु योगेश भट्टराई, गगन थापा, मधेशवादी दलका नेताहरुसँग पनि मैले पटकपटक भेट्न प्रयास गर्थेँ, भेटिरहन्थेँ । जुनसुकै पार्टीमा भए पनि युवाहरुले सुशासन, सदाचार र देशलाई समृद्ध बनाउनु पर्छ भन्ने सोच मेरो हुन्थ्यो । 

मैले रवीन्द्रजीलाई पनि बारम्बार देशलाई अगाडि बढाउनु पर्छ है भनेर छलफल गर्थेँ । हामी शान्तिप्रक्रियामा आएपछि उहाँसँग मेरो भेट बाक्लिएको थियो । उहाँ र मैले लामो समय यस्ता विषयमा कुरा गथ्र्यौँ ।

राजनीतिक रुपमा मैले बढी अपेक्षा गरेका युवा नेतामध्ये उहाँ एक हुनुहुन्थ्यो । युवा भएकाले, सिर्जनशील ढंगले सोच्ने, नयाँ कुरा गर्न आँट गर्ने, सम्भावना बोकेका केही नेताहरुमध्ये उहाँलाई पनि म एक लिन्थेँ । उहाँसँग मेरो सम्बन्ध कति राम्रो थियो भने उहाँ मन्त्री भएपछि पनि विभिन्न विषयमा उहाँले सल्लाहसुझाव माग्नुहुन्थ्यो, हामी विभिन्न विषयमा छलफल गथ्र्यौँ । 

व्यक्तिगत भन्दा पनि बढी वैचारिक बहस हुन्थ्यो मेरो रवीन्द्रजीसँग । समाजलाई अगाडि बढाउन सिर्जनशील ढंगले सोच्नु पर्ने, नयाँ पुस्ता अगाडि आउनु पर्नेलगायतका विषयमा उहाँ र म सहमत हुन्थ्यौँ । 



अहिले पनि कम्युनिस्ट आन्दोलन पुरानै ढंगको छ । यसले गति दिन सक्दैन । नयाँ ढंगले लैजानुपर्छ भनेर मैले माक्र्सवादभित्र पनि सिर्जनशील ढंगले सोच्ने त्यस्तो युवाहरू, देशको विकास र समृद्धिमा फरक ढंगले सोच्ने, आलोचनात्मक सोच भएका सबै पार्टीभित्रका युवाहरूसँग म नजिक हुन चाहन्थेँ, प्रश्रय दिन्थेँ । 

त्यस्ता युवा नेतामध्ये एक हुनुहुन्थ्यो रवीन्द्र अधिकारी, उहाँको निधनले म व्यक्तिगत रुपमा मर्माहत भएको छु, स्तब्ध छु । देशले एउटा नेता गुमाएको छ, यसले दुःख लागेको छ ।



(डा. भट्टराईसँग फरकधारका रमेश दवाडीले गरेको कुराकानीमा आधारित)
 

  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार २२:२३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया