वैदेशिक रोजगारीको प्रलोभन देखाएर १० महिनामा ७६ करोड ठगी

वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालू आर्थिक वर्षको १० महिनामा गैरकानूनी बिचौलिया र एजेन्टहरूले झन्डै ७६ करोड रुपैयाँ ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागमा चालू आवको साउनदेखि वैशाखसम्म दर्ता भएका ९ सय २५ उजुरीमा ७५ करोड ७७ लाख ४१ हजार २१४ रुपैयाँ ठगी रकम दाबी गरिएको विभागले जनाएको छ ।

यो रकम दाबी वैदेशिक रोजगारीमा श्रमिक पठाउन अनुमति नै नपाएका गैरकानुनी एजेन्ट र बिचौलियाबाट भएको ठगीको जनाइएको छ । वैदेशिक रोजगारीमा श्रमिक पठाउनकै लागि विभागसँग अनुमति लिएका म्यानपावर कम्पनीबाहेक अन्य कोही पनि एजेन्टले रोजगारीका लागि श्रमिक पठाउन नपाउने सरकारी नियम भए पनि सरकारको नियमविपरीत एजेन्ट र बिचौलियाबाट हुने ठगीका उजुरी भने बर्सेनि बढ्न थालेको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।

उनका अनुसार अघिल्लो वर्षको तुलना चालू आवमा ठगी भएका उजुरीहरू बढेका छन् । विभागका अनुसार पछिल्लो केही समययता वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत नै नलिएका व्यक्तिहरूबाट भएको ठगीको उजुरी महिनामै सयभन्दा बढी पर्न थालेका छन् । विभागले गएको वैशाख महिनामा मात्रै एजेन्ट र बिचौलियाबाट भएको ठगीको एक सय चार वटा उजुरी परेको जानकारी दिएको छ  । चालू आवको १० महिनामा एजेन्ट र बिचौलियाबाट भएको नौ सय २५ वटा  ठगीको उजुरी विभागमा दर्ता भएका बताइएको छ ।

विभागको तत्थ्याङ्कअनुसार गएको आर्थिक वर्षमा एजेन्टहरूबाट ठगी भएको ६ सय ९५ उजुरी विभागमा परेको थियो । ती उजुरी उपर ५० करोड ४४ लाख ६१ हजार २०३ रुपैयाँ दाबी गरिएको थियो । 

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ देखि अहिलेसम्म एजेन्ट र बिचौलियाबाट १ अर्ब २६ करोड २२ लाख २ हजार ४ सय १७ रुपैयाँ ठगी भएको छ । विभागमा परेको १ हजार ६ सय २० उजुरी उपर यो रकम दाबी गरिएको हो ।

चालू आर्थिक वर्षको दश महिनामा परेका नौ सय २५ उजुरीमध्ये ७७ वटा मुद्दा अदालतमा दायर गरिएको छ भने एक सय ७६ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । 



यसैगरी विभागकै रोहबरमा १ सय ३५ जनाले मिलापत्र गरेका छन् । मिलापत्रमार्फत एजेन्टहरूले ९ करोड ४३ लाख ५६ हजार १ सय रुपैयाँ फिर्ता गरेका जनाइएको छ ।

गैरकानूनी एजेन्ट र बिचौलियामार्फत भएको ठगीको उजुरी उपर विभागले अनुसन्धान गर्ने, प्रमाण जुटाएर अदालतमा मुद्दा दायर र मिल्छु भन्नेहरूलाई मिलापत्र गराउने गरेको वभागका निर्देशक तथा सूचना अधिकारी सुवेदीले जानकारी दिए । रासस



  • प्रकाशित मिति : जेठ ५, २०८० शुक्रबार ६:३१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया