\
वैदेशिक रोजगारीको सिलसिलामा ८ महिनाअघि पोर्चुगल गएका एक नेपाली युवक मृत फेला परेका छन् । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटी गत शुक्रबार सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।
साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए ।
साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । ८ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै ८ महिनाअघि पोर्चुगल आएका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शव गृहमा राखिएको छ ।
परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए । उनले शव पठाउनका लागि आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग विशेष आग्रहसमेत गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।