मेरोपाला भुटानी शरणार्थी प्रकरणमा केही भएको छैन, छानबिन गरे हुन्छ : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणले थप रहस्य खोल्नसक्ने बताएका छन् । दबाउनै नसकिने गरी यो प्रकरण सार्वजनिक भएको उल्लेख गर्दै उनले आगामी दिनमा घटना थप भयावहरूपमा निस्किने बताएका हुन् । 

‘यो पचाउन सक्ने, दबाउन सक्ने केसै हैन । भुइँचालो मैले ल्याएँ भन्नु बेकार छ । आफैं आएको हो भुइँचालो । यो कुरा भोलि अझ भयावहरूपमा निस्किन्छ । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न,’ आइतबारको प्रतिनिधि सभाको बैठकमा ओलीले भने ।   

उनले आफ्नो समयमा भुटानी शरणार्थी प्रकरणमा केही पनि नभएको उल्लेख गर्दै छानबिन गर्न चुनौती पनि दिए ।

‘मेरो समयमा केही पनि गएको छैन । छानबिन गर्नुस् फेरि पनि । एउटा समिति बनेछ, त्यो समितिले केही प्रस्ताव पठाएछ, मैले अध्ययन गर्ने भनेर राखे, होल्ड गरे,’ ओलीले भने ।

उनले आफूविरुद्ध मुद्दैमुद्दा रहेको उल्लेख गर्दै कागजसमेत हेर्न नभ्याएको बताए । 

‘मलाई पिङ खेलाकोलाई हुनुहुन्थ्यो । मुद्दै मुद्दा, विरोधैविरोध, भित्तामा टाँसिदिन्छु भन्या छ, धुलोमा मिलाइदिन्छु भन्या छ, न मिलाइदिने पो हो कि भन्ने अवस्था थियो,’ ओलीले भने ।   



उनले यस प्रकरणमा निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी पनि गरे । ‘कोही दोषी छुट्नु हुँदैन, दोषी उम्काउने, निर्दोष फसाउने प्रयास भइरहेको छ,’ ओलीले भने ।  

उनले यो प्रकरणको छानबिनमा हस्तक्षेप नगर्न पनि सरकारलाई आग्रह गरे । 



‘केपी ओलीले अर्थोक गर्ला । बाघ भोकै पर्छ, गाँस खाँदैन भन्छन् नि । म्याऊ म्याऊ गर्दैन । र, यस प्रशंगलाई, यस भ्रष्टाचारको कारबाहीलाई निष्पक्ष र तटस्थ ढंगले कोही पनि अपराधी नउम्कने गरी र कोही पनि दोषीलाई, दोषी नउम्कियोस्, निर्दोष कोही नफसोस्,’ ओलीले भने, ‘फेरि एकपल्ट म दोहोर्याउन चाहन्छु– म तथ्य प्रमाणसहित भन्दैछु– दोषीलाई उम्काउने कोसिस भइरहेको छ । निर्दोषलाई फसाउन कोसिस भइरहेको छ । यो कुरा बन्द गरियोस् । र, दोषीमाथि कारबाही दृढताका साथ अगाडि बढाओस् ।’ 

  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १४:२५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया