नक्कली भुटानी शरणार्थी प्रकरण : कहाँ लुके प्रतीक र नीरज ?

नक्कली भुटानी शरणार्थी प्रकरणले तातेको माहोल अझै सेलाएको छैन । ०७९ चैत दोस्रो सातादेखि अन्तर्राष्ट्रिय जगत् नै हल्लाउने गरी बाहिरिएको उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म संलग्न रहेको पाइएपछि थप चासोको विषय बनेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण तथा बहालवाला सचिव टेकनाराण पाण्डे नै संलग्न रहेको पाइएपछि उक्त प्रकरणले थप चर्चा पाएको हो । 

उक्त प्रकरणमा मुछिएकालाई ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिने जनाएको छ । उच्चपदस्थ र भुटानी शरणार्थी नेतासहित कम्तीमा पाँचजनामाथि राज्यविरूद्धको अपराधमासमेत मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीले निकालेको छ  । नक्कली भुटानी शरणार्थी प्रकरणमा ५५ दिन अनुसन्धान गरेर तयार पारेको प्रतिवेदन प्रहरीले आइतबार (आज) सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी भएको उजुरी परेको १० महिनापछि तीन आरोपितलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरिसकेको छ ।

तर, प्रहरीले उक्त प्रकरणमा संलग्न दुईजनालाई भने हालसम्म पक्राउ गर्न सकेको छैन । पक्राउ पुर्जी (वारेन्ट) जारी भएका नीरज राई र प्रतीक थापालाई प्रहरीले पक्राउ गर्न नसकेको हो । उनीहरूबारे अनभिज्ञ भएको प्रहरीको स्वीकारोक्ति छ । 

प्रतीक नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा हुन् भने नीरज तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा हुन् ।



१९ वैशाखमा प्रहरीले इन्द्रजित राईका बाबु-छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी गरेको भोलिपल्ट (२० वैशाख)मा प्रहरीले ललितपुरको सुनाकोठीमा रहेको उनकै निवासबाट इन्द्रजितलाई नियन्त्रणमा लिन सफल भए पनि छोरालाई भने पक्राउ गर्न सकेको छैन । यसैगरी पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको प्रहरीले उनलाई पनि हालसम्म पक्राउ गर्न सकेको छैन ।

थापाले बुबा गृहमन्त्री भएका बेला त्यसको फाइदा उठाएर नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ लिएको प्रमाण फेला पारेको छ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता कुवेर कडायतले फरार रहेकाको खोजीकार्य जारी रहेको जानकारी दिए । उनका अनुसार प्रहरीले उनीहरूलाई खोजिरहेको छ, तर फेला पर्न भने सकेको छैन । 



आरोपितहरू मोबाइल अफ गरेर फरार रहेका कारण प्रहरीले खोजी गर्न नसकेको उनको भनाइ छ । पक्राउ परेका अन्यको बयान सकेर प्रहरीले आज प्रतिवेदन बुझाउन लागेको उनले बताए ।

संगठित अपराधमा प्रहरीलाई अनुसन्धान गर्न ६० दिनको समय सीमा हुने भएकाले पक्राउ परेकाहरूको बयान लिएर आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गर्ने र फरार रहेकाको हकमा फरारको माग दाबी गर्ने तयारी प्रहरीको छ । अदालतले फरार कायम गरेपछि उनीहरूको खोजी कार्य जारी रहने उनले बताए । उनले भने, ‘अदालतले फरार घोषणा गर्छ । त्यसपछि प्रहरीले खोजी कार्यलाई जारी राख्छ । त्यसपछि इन्टरपोलको माध्यमबाट उनीहरूको खोजी विदेशमा पनि हुन्छ ।’

अहिले नेपाल प्रहरीले उनीहरूलाई देशभित्रै मात्र खोजिरहेको उनले बताए । उनले भने, ‘अहिले देशभित्रै खोजी हुन्छ । बाहिर खोजी गर्न अदालतको फैसला भएपछि मात्र इन्टरपोलको सहयोग माग्न सकिन्छ ।’

कसरी र कहिले प्रहरी फन्दामा परे १६ जना ?

उजुरी परेको १० महिनापछि तीनजनालाई पक्राउ गरेको प्रहरीले त्यसपछि भने उक्त प्रकरणमा संलग्नलाई एकपछि अर्को गर्दै नियन्त्रणमा लिएको थियो । प्रहरीले सुरुमा ०७९ चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको थियो । यसैगरी १५ चैतमा सागर थुलुङ राई र २९ चैतमा सन्देश शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूकै बयान र अनुसन्धानका आधारमा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईलाई १९ वैशाखमा र उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे र सन्दीप रायमाझीलाई २० वैशाखमा प्रहरीले पक्राउ गरेको थियो । उक्त प्रकरणमा संलग्न रहेको आरोपमा २६ वैशाखमा रामशरण केसी र गोविन्द चौधरी प्रहरीको फन्दामा परेका थिए ।

यसअघि पक्राउ परेकाहरूको बयान र अनुसन्धान गरेर प्रहरीले २७ वैशाखमा नेपाली कांग्रसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री खाण र उनका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पक्राउ गरेको थियो । 

यसैगरी, पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रहरीले ३१ वैशाखमा पक्राउ गरेको थियो । पूर्वसभासद आङटावा शेर्पा १ जेठमा पक्राउ परेका थिए । यसैगरी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई ४ जेठमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १७:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया