डा. शाह मृत्यु प्रकरण : प्रेममा असफलताका कारण आत्महत्या

धनगढीकी २६ वर्षीय चिकित्सक प्रशन्ना शाहको मृत्युपछि उनको परिवार स्तब्ध छ । उनको परिवार मात्र होइन सिंगो धनगढीमै सन्नाटा छाएको छ । ठूलो लगानी गरेर पढाएकी छोरीको अकालमा मृत्यु भएपछि घर–परिवार मृत्युको कारण खोजिरहेको छ । मृतक शाहले भारतको बैंग्लोरबाट दुई वर्षअघि एमबिबिएस फिजियोथेरापीको अध्ययन गरेकी थिइन् । उनी दुई वर्षदेखि धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत थिइन् । 

जेठ १ गते चिकित्सक शाहको जन्मदिन परेको थियो । उनको परिवारमा असार ८ गते दाइको विवाह हुने तय भएको थियो । शुक्रबार चिकित्सक शाह आमासँगै दाइको बिहेका लागि सामान किन्न धनगढीबाट नजिकै रहेको भारतको पलिया जाने योजना थियो । तर, चिकित्सक शाह बिहीबार उनकै सुत्ने कोठामा मृत फेला परेपछि शाह परिवारमा बज्रपात आइपर्यो । 

पारिवारिक स्रोतका अनुसार चिकित्सक शाह र धनगढीका युवक विकल केसीबीच पहिल्यैदेखि प्रेम सम्बन्ध रहेको थियो । केसीको परिवारले पनि दुवैजना प्रेम सम्बन्धमा रहेको स्वीकार गरेका छन् । तर, गत फागुनदेखि भने चिकित्सक शाह र केसीको सम्बन्ध टुटेको दुवै परिवारले बताएका छन् । केसी सडक दुर्घटनामा परेपछि दुवैको भेटघाट र कुराकानी हुन छाडेको शाह र केसीका आफन्तले बताएका छन् ।

सानैदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने योजना शाह र केसीको रहेको बुझिएको छ । चिकित्सक शाहले भागेर बिहे गर्ने र विदेशमा सेटल हुने प्रस्ताव राख्दा केसीले मानेनन् । आफू धनगढीमै व्यवसाय गर्न इच्छुक रहेकाले भागेर विवाह गर्न र विदेश जान नसकिने अडान उनको थियो । घरमा विवाहको प्रस्ताव लिएर जान्छु भन्दा डाक्टर शाहले ‘दाइले पनि अन्तरजातीय विवाह गरेको आफूले पनि अहिले नै अन्तरजातीय विवाह गर्छु भन्दा समस्या हुने’ बताएकी थिइन् । शाहसँग बिहे गर्न नसकिने देखिएपछि विकलको परिवार अर्को केटी खोज्ने तयारीमा लाग्यो । 

केसीसँग सम्बन्ध बिग्रिएपछि चिकित्सक शाहको मायामेट्रो अस्पताल​मै फिजियोथेरापी विभागमा कार्यरत भट्टराई थरका चिकित्सकसँग निकटता बढ्यो । विकल केसी दुर्घटनामा परेको मौका छोपेर भट्टराईले शाहसँग सम्बन्ध बनाएको शाह परिवार र अस्पताल स्रोतको आरोप छ । विकल केही महिनाअघि मात्रै दुर्घटनामा परेका थिए ।

जेठ १ गते प्रशन्नाको जन्मदिनको अवसर पारेर उनीसँग ‘फाइनल कुरा’ गर्न खोज्दा चिकित्सक भट्टराईले प्रशन्नालाई केसीसँग भेट गर्नै नदिएको अस्पताल स्रोतको दाबी छ । विकल केसीले अन्तिम कुराकानी गर्न अस्पतालको ल्यान्डलाइनमा पनि पटकपटक फोन गरे पनि कुराकानी भने नभएको केसीको परिवारले बताएको छ ।



चिकित्सक भट्टराईले प्रेम सम्बन्ध अर्कै केटीसँग हुँदाहुँदै विभिन्न तरिका र थरीथरीका दबाब दिएर प्रशन्नासँग देखावटी प्रेम गरेको उनका सहकर्मीकाे दाबी छ । उनलाई मनोवैज्ञानिक डर, त्रास र प्रलोभन देखाएर भट्टराईले आफ्नो कब्जामा लिएको सहकर्मीहरूले प्रहरीसँगको बयानमा बताएका छन् । 

विकल केसीसँगको सम्बन्ध टुंगिनुमा पनि भट्टराईले भूमिका खेलेको हुनसक्ने प्रशन्नाको परिवारले बताएको छ । भट्टराईले विभिन्नखाले धम्की दिने, झगडा गर्ने, अनेक प्रकारले माया दर्शाउनेजस्ता  उपाय अपनाएर प्रशन्नालाई ६ महिनादेखि आफ्नो नियन्त्रणमा लिएको र विकलको मोबाइल नम्बर ‘ब्लक लिष्ट’मा राख्न लगाएको उनका सहकर्मीको आरोप छ । 



पहिलो प्रेमबाट घायल बनेकी आफूलाई भट्टराईले पनि ‘युज एण्ड थ्रो’ गर्न खोजेको भनेर प्रशन्नाले सहकर्मीहरूसँग गुनासो गर्ने गर्थिन् । प्रेममा धोका र बदलामा ब्ल्याकमेलिङ र टर्चर सहन गर्न नसकेर चिकित्सक प्रशन्नाले मृत्यु रोजेको हुनसक्ने अनुमान सहकर्मी र परिवारजनले गरेका छन् ।

पूर्वप्रेमी विकल र वर्तमान प्रेमी चिकित्सक भट्टराईविरुद्ध परिवारले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेका छन् । चिकित्सक प्रशन्नाको मृत्यु प्रकरणमा धनगढीकै विकल र डा. भट्टराईलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदीप चन्दले मृतकका परिवारले ल्याएको किटानी जाहेरीका आधारमा प्रशन्नाका पूर्वप्रेमी समेत रहेका केसी र हालका प्रेमी भट्टराईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

उनका अनुसार केसी शनिबार बिहान र भट्टराई दिउँसो जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको भन्दै धनगढीको मायामेट्रो अस्पतालमा उनीसँगै कार्यरत डा भट्टराई र केसीलाई समातिएको हो । 

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान र सोधखोज जारी छ । जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए । धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डा प्रशन्ना बिहीबार बिहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । 

उनको मोबाइल प्रहरीले बरामद गरेको छ । मोबाइलमा घटनासम्बन्धी महत्वपूर्ण प्रमाण रहेको स्रोतले बताएको छ । मृतक प्रशन्नाको केही महिनापछि भारतको देहरादुनबाट एमडी अध्ययन गर्ने योजना थियो । तर, एमडी गर्ने योजना बुन्दै गर्दा उनले आफ्नै ज्यान गुमाउने निर्णय लिनुपरेको छ । 

(मृतक प्रशन्नाका परिवारका सदस्यसँगको कुराकानीमा आधारित) 

  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १९:२७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया