नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार गम्भीर नभएको भन्दै विरोध

नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ । 

सोमबार माइतीघर मण्डलामा भेला भई विद्यार्थी संगठनका नेताहरूले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका हुन् । विरोध कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले भुटानी शरणार्थी प्रकरणमा ३२ जनालाई प्रहरीले दोषी करार गरेको भए पनि अहिलेसम्म १६ जना भन्दा अरूलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाए । 

‘भुटानी शरणार्थी प्रकरणमा ३२ जनालाई प्रहरीले दोषी करार गरेको छ । तर अहिलेसम्म १६ जना मात्रै गिरफ्तार भएका छन्, पूर्व गृहमन्त्रीदेखि पूर्व उर्जामन्त्रीदेखि, सचिवहरूलाई पक्राउ गरी अनुसन्धानमा राखिएको छ,’ उनले भने, ‘तर यो सरकार यो संकटको समाधान गर्न गम्भीर देखिँदैन, यो कुरा विगतका घटनाले पनि पुष्टि गर्छ, चाहे त्यो लाउडा काण्ड होस्, ललिता निवास प्रकरण, ३३ किलो सुन, ओम्नी प्रकरण जुनसुकै घटनामा पनि यी समग्र प्रकरणको राज्य व्यवस्थाले हल गरेको छैन ।’ 

उनले यस प्रकरणमा मुछिएका ठूला नेताहरू डा. आरजु राणा देउवा र मञ्जु खाणलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताए । उनले तत्कालीन सरकारको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाए । 

उनले भने, ‘मानव तस्करीहरूलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ । तर यो सरकार यसो गर्ने पक्षमा देखिएको छैन । यहाँ अरू पनि दोषी ठहरिन्छन्, उनीहरूलाई कारबाही गरियोस् ।’

प्रदर्शनमा उत्रिएका विद्यार्थी संगठनकर्मीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कारबाही गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, मानव तस्कर गर्ने अपराधीहरूलाई तत्काल कारबाही गर, दलाल संसदीय व्यवस्था मुर्दावाद लगायतका नारा र प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।  





  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १६:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया