भुटानी शरणार्थी प्रकरण : बादल दम्पती, अख्तियार प्रमुख राईदेखि ओलीका स्वकीय सचिवसम्मले रकम लिएको दाबी
आरजु राणा र मञ्जु खाँणविरुद्ध कुनै पनि प्रमाण फेला परेन

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले रायसहित सोमबार प्रतिवेदन बुझाएको छ। संगठित अपराधमा ६० दिनभित्र प्रतिवेदन बुझाउनुुपर्ने प्रावधान छ । प्रहरीले अनुसन्धान सुरु भएको ५७औँ दिनमा सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदनमा ३० जनालाई प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ। तीमध्ये हालसम्म १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस प्रकरणमा नाम मुछिएका १७ जना अझै फरार छन्।

पक्राउ पर्नेमा नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन् । 

यसैगरी प्रहरीले केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् । 

प्रहरीले प्रहरीले बुझाएको प्रतिवेदनमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलसहित पाँचजनाविरुद्ध पनि पूरक अभियोजन लैजान बाटो खुला गरिएको छ । एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, पूर्वगृहसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, एमालेका पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य र एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यविरुद्ध पनि पूरक अभियोजन लैजान बाटो खुला गरिएको हो । 

उनीहरुविरुद्ध थप प्रमाण जुट्नासाथ पूरक अभियोग लैजान बाटो खुल्ला गरिएको हो। शरणार्थी प्रकरणको सुरुवात बादल गृहमन्त्री र प्रेमकुमार राई गृहसचिव हुँदा भएको थियो। बादल गृहमन्त्री हुँदै शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोहले नेपालीबाट लाखौँका दरले रकम उठाउन थालेका थिए। बादल र राईले नै शरणार्थीको दीर्घकालीन व्यवस्थापन गर्न भन्दै कार्यदल गठन गरेका थिए। 



यस ठगी प्रकरण बादलकै पालामा भएको खुले पनि बादलको प्रत्यक्ष संलग्नताको प्रमाण जुटाउन भने प्रहरीले सकेन । त्यसैले उनलाई प्रतिवादी बनाइएको छैन । उनका छोरा प्रतीकलाई प्रहरीले प्रतिवादी बनाउन राय दिएको छ। उनलाई फरारकै सूचीमा राखेर प्रहरीले प्रतिवेदन बुझाएको छ। प्रहरीले उनको संलग्नता रहेको प्रमाणसहित प्रतिवेदन बुझाएको छ । 

बादलपत्नी नैनकलाले समेत रकम बुझेको प्रतीकको म्यासेजबाट पुष्टि भएको छ। आमाले रकम बुझिसकेको भनेर प्रतीकले बिचौलियालाई म्यासेज गरेको प्रहरीलाई बताएका छन्। 



यस प्रकरणमा सबैभन्दा बढी रकम लिनेमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई देखिएका छन् । इन्द्रजितका छोरा निरज पनि यो प्रकरणमा संलग्न देखिएको भन्दै प्रहरीले उनलाई पनि फरारको सूचीमा राखेर प्रतिवेदन बुझाएको छ। 

यस्तै नेकपा एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्यको पनि नाम उल्लेख गरिएको छ। प्रतिवादीको बयानमा उनीहरुको नाम उल्लेख भएकाले प्रमाण जुटेको अवस्थामा उनीहरुविरुद्ध पूरक अभियोग दर्ता हुन सक्ने उल्लेख गरिएको छ।

तर आरजु राणा र मञ्जु खाँणविरुद्ध भने कुनै पनि प्रमाण फेला नपरेको प्रहरीको दाबी छ। उनीहरुको नाम बयानका क्रममा प्रतिवादीले नलिएकाले प्रतिवेदनमा उनीहरुको नाम उल्लेख गरिएको छैन।

सरकारी वकिल कार्यालयले जेठ १० गते वा ११ गते जिल्ला अदालतमा मुद्दा दायर गर्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन आइसकेको र अध्ययनका क्रममा रहेको जानकारी दिएको छ । 

३० जना प्रतिवादीविरुद्ध प्रहरीले चारवटा मुद्दा चलाउने तयारी गरेको छ । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुरसहित ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सार्वजनिक पद धारण गरेकाको हकमा भ्रष्टाचारको कसुरमा समेत मुद्दा चलाउन राय दिएको हो । 

प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार नै पत्र पठाइसकेको छ। पक्राउ परेकाहरुले हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका प्रेमकुमार राईलाई समेत रकम दिएको बयान दिएका छन् । राई तत्कालीन गृहसचिव हुन् ।

  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार २३:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया