हावाहुरीले कागती खेती नष्ट

केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीय राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गरेको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । 

२६ रोपनी क्षेत्रफलमा १ हजार बोट लगाएकामा हावाहुरीले ३ सय बोट नष्ट गरेको उनले जानकारी दिए । रेग्मीका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती खेती गरिएको छ । ‘हावाहुरीले धेरै ठूलो क्षति पुगेको छ, तीन सयभन्दा बढी बोट भाँचिएको छ, बगैँचा ध्वस्त बनाएको छ,’ उनले भने । कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको उनले गुनासो छ ।   

चार वर्ष कोरिया बसेर फर्किएका उनी कागतीलाई नै मुख्य पेसा बनाउने सोचसहित अगाडि बढेका छन् । हालसम्म ३५ लाख रुपैयाँ लगानी भएको रेग्मीले बताए । अघिल्लो वर्ष ५ लाख रुपैयाँको कागती बिक्री गरेकामा यस वर्ष २५ लाख रुपैयाँको बिक्री गर्ने लक्ष्य थियो । 

‘कागती राम्रो फलिरहेको थियो, यो वर्ष विस्तार पनि गरेको थिएँ, तर हावाहुरीले बोटहरू जरैदेखि भाँचिएको छ,’ रेग्मीले भने । कृषिप्रधान देश भनिए पनि कृषिमा सम्बन्धित निकायको कम चासो रहने गरेको उनको गुनासो छ ।  

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा तरकारी बालीमा क्षति पुगेको जानकारी दिए । उनका अनुसार जिल्लाभर क्षतिको विवरण सङ्कलन भइरहेको छ । कृषिमा पुगेको क्षतिको मूल्याङ्कन गरेर कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । 

‘हामी सम्बन्धित निकायमा यसबारेमा जानकारी गराउँछौँ, कृषकलाई क्षतिपूर्तिको व्यवस्था नगर्ने हो भने उहाँहरू कृषि पेसाबाटै विमुख हुनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने । 



आशापानीका कागती खेती कृषकको बगैँचामा पुगेर अवलोकन गर्दा धेरै ठूलो क्षति भएको जानकारी पाएको उनले बताए । ‘कृषकले राम्रो व्यवस्थापनका साथ कागती खेती गर्नुभएको थियो, बगैँचा व्यवस्थापन आकर्षण छ, तर हावाहुरीले एकतिहाइ बोट जरैदेखि नष्ट गरिदियो,’ उनले भने । रासस 



  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार ८:४२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया