भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकालाई थुनामा राख्न फेरि अदालतबाट अनुमति लिँदै प्रहरी

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले आज अनुमति लिने भएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले दुई दिन समय थप गर्न लागिएको हो । 

पक्राउ परेका १६ जनाको उपस्थितिमा काठमाडौं जिल्ला अदालत पुगेर दुई दिन समय थपको अनुमति लिइनेछ । यसअघि गत आइतबार  जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको थियो । 

यस प्रकरणको अनुसन्धान प्रतिवेदन भने प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि ठगी गर्ने कार्यमा ३३ जना संलग्न रहेको निष्कर्षसहित प्रहरीले सोमबार प्रतिवेदन बुझाएको थियो ।   

प्रहरीले सुरुमा गत १२ चैतमा केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको थियो । यसैगरी १५ चैतमा सागर थुलुङ राई र २९ चैतमा सन्देश शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।  

उनीहरूकै बयान र अनुसन्धानका आधारमा पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईलाई १९ वैशाखमा र उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे र सन्दीप रायमाझीलाई २० वैशाखमा प्रहरीले पक्राउ गरेको थियो । उक्त प्रकरणमा संलग्न रहेको आरोपमा २६ वैशाखमा रामशरण केसी र गोविन्द चौधरी प्रहरीको फन्दामा परेका थिए ।



यसअघि पक्राउ परेकाहरूको बयान र अनुसन्धान गरेर प्रहरीले २७ वैशाखमा नेपाली कांग्रसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री खाण र उनका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पक्राउ गरेको थियो । 

यसैगरी, पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रहरीले ३१ वैशाखमा पक्राउ गरेको थियो । पूर्वसभासद आङटावा शेर्पा १ जेठमा पक्राउ परेका थिए । यसैगरी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई ४ जेठमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।



  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार ११:४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया