सुर्तीजन्य पदार्थ : नियमन र नियन्त्रणमा सरकार ‘कुहिरोको काग’

नेपालमा सुर्तीजन्य पदार्थको सेवनले बर्सेनि ३७ हजार मानिसको मृत्यु हुने गरेको छ । हरेक वर्ष यति ठूलो संख्यामा जनताको मृत्यु हुने गरे पनि सरकारले सुर्तीजन्य पदार्थमा पूर्ण रूपमा रोक लगाउन सकेको छैन । रोक लगाउनु त परको कुरा, नेपालमा सुर्तीजन्य पदार्थको पहुँच यति सहज छ कि जुनसुकै बेला, जहाँसुकै, जुनसुकै उमेरसमूहका व्यक्तिले किन्न र प्रयोग गर्न सक्छन् । यदाकदा सार्वजनिक स्थानमा धूम्रपान गर्न नपाइने नियम लगाइए पनि व्यवहारमा भने लागू भएको पाइँदैन ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसार नेपालमा ४८ लाख मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्छन् । जसका कारण ३७ हजार ५२९ जनाको बर्सेनि मृत्यु हुने गरेको छ । सार्वजनिक तथ्यांकअनुसार १५ देखि ५९ वर्षका २८.९ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका छन् । यो संख्या बर्सेनि ७० हजारका दरले बढ्ने गरेको प्रतिष्ठानको तथ्यांकले देखाउँछ ।

यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको सर्वेक्षणले यो उमेर समूहका ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेको देखाएको थियो । यो संख्या घट्नुको साटो बर्सेनि बढ्दो क्रममा रहेको परिषद्ले जनाएको छ । परिषद्को पछिल्लो तथ्यांकअनुसार प्रदेश ५ मा सबैभन्दा बढी ३६.६ प्रतिशत र वाग्मतीमा सबैभन्दा कम २२.२ प्रतिशत सुर्तीजन्य पदार्थको खपत हुने गरेको छ ।

डब्लुएचओको मापदण्डअनुसार छैन सुर्तीजन्य पदार्थमा कर

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनुपर्ने नियम छ । तर, नेपालमा भने सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत मात्र कर उठाउने गरिएको छ । सरकारले कडाइका साथ सुर्तीजन्य पदार्थमा नियमन तथा नियन्त्रण नगर्दा सुर्तीजन्य पदार्थको सेवन गर्ने मानिसको संख्या बढ्नुका साथै नसर्ने रोगमा पनि वृद्धि भइरहेको चिकित्सकहरूको भनाइ छ । 

नेपालमा बर्सेनि हुने कुल मृत्युको कारण करिब २० प्रतिशत  सुर्तीजन्य पदार्थको सेवन रहेको भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. रोशन प्रजापति बताउँछन् । बजारमा सुर्तीजन्य पदार्थ सर्वसुलभ हुँदा यसबाट निम्तिने स्वास्थ्य जटिलता नियन्त्रणभन्दा बाहिर हुँदै गइरहेको उनको भनाइ छ । ‘सुर्तीजन्य पदार्थमा कर बढाउँदा सेवनकर्तामा कमी आएको केही अध्ययन तथा अनुसन्धानले देखाएकाले डब्लुएचओको मापदण्डअनुसार सुर्तीजन्य पदार्थमा कर बढाउन आवश्यक छ,’ डा. प्रजापतिले भने । 



नेपालमा प्रायः धनी व्यक्तिको तुलनामा निम्न आय भएका व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन बढी गरेको विभिन्न अध्ययनमा देखिएको एक्सन नेपालका कार्यक्रम संयोजक भरतविक्रम शाहले जानकारी दिए । ‘सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिलाई कसैले पनि रोक्न सक्दैन । तर, सुर्तीजन्य पदार्थमा कर बढ्दा, मूल्य निश्चय नै बढ्छ,’ उनले भने, ‘सुर्तीजन्य पदार्थमा कर बढाउँदा निम्नवर्गीय परिवारले किनेर खाने अनुपातमा कमी आउन सक्छ । सुर्तीजन्य पदार्थ सेवनको लत छोड्न नसके पनि पहिलेको तुलनामा सेवन मात्रामा कमी आउँछ ।’

सुर्तीजन्य पदार्थबाट अन्य वस्तुको तुलनामा धेरै कर उठ्ने भएकाले पनि सरकारले सुर्तीजन्य पदार्थको सेवनमा कडाइ गर्न नसक्ने जानकारहरूको भनाइ छ । हाल सुर्तीजन्य पदार्थमा भारतले ५३ प्रतिशत, पाकिस्तानले ५६ प्रतिशत, बंगलादेश र श्रीलंकाले ७०–७० प्रतिशत कर उठाइरहेको छ । 



ऐन कार्यान्वयनमा सरकार नै अलमलमा 

सुर्तीजन्य पदार्थका बट्टा, प्याकेट, पेटी तथा पार्सल प्याकेजिङमा ७५ प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने प्रावधान रहेको थियो । तर, गत भदौ १२ मा सर्वोच्च अदालतले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर, पेटी तथा पार्सल प्याकेजिङ र लेबुलको बाहिरी कुल भागमध्ये ९० प्रतिशत भाग (७० प्रतिशत भागमा रंगिन चित्र र २० प्रतिशत भागमा चेतनामूलक) सन्देश र चित्र छाप्नुपर्ने परमादेश दिएको छ ।

यसअघि एक्सन नेपालले ७० प्रतिशत भागमा रंगिन चित्र र २० प्रतिशत भागमा चेतनामूलक सन्देश र चित्र छाप्नुपर्ने मागसहित अदालतमा रिट दायर गरेको थियो । त्यसपछि रिट दायर निवेदकको माग बमोजिम नै फैसला आएको हो । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाउनेदेखि उत्पादकहरूले विज्ञापन गर्न र प्रायोजन गर्न नपाउनेसम्मको प्रावधान उल्लेख छ ।

सजायमा कसुरअनुसार पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । तर, अनुगमन र नियमन हुँदाहुँदै पनि कारबाही प्रक्रियामा सबै निकाय सक्रिय नहुँदा सुर्तीजन्य पदार्थको उत्पादन तथा प्रयोगमा नियन्त्रण चुनौती बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

संयोजक शाहका अनुसार ७५ प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने प्रावधान बढाएर ९० प्रतिशत बनाउन माग गर्नुको मुख्य उद्देश्य समाजमा जनचेतना फैलाउनु हो । उनी भन्छन्, ‘सरल भाषामा सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा असर गर्छ भन्ने बुझाउनका लागि चेतावनीमुलक सन्देश र चित्र छाप्ने प्रावधान ९० प्रतिशत बनाउन माग गरिएको हो । विभिन्न अनुसन्धान तथा अध्ययनले देखाएअनुसार पढ्न सक्नेबाहेक अन्यले पनि सजिलै चित्रमा हेरेर सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन भन्ने बुझेको पाइयो । त्यसैले, सुर्तीजन्य पदार्थको सेवनमा कमी आओस् भन्ने हेतुले नै यो नीति अपनाइएको हो ।’  

‘हामीले त सरकारलाई सुर्तीजन्य पदार्थको सेवनले हुने हानी–नोक्सानीबारे घच्घच्याउने मात्रै हो । तर, प्रभावकारी तरिकाले यस क्षेत्रमा सरकारले नै काम गर्नुपर्छ,’ संयोजक शाह भन्छन्, ‘सरकारले नियम, कानुन ल्याएपछि अनुशासित भएर कार्यन्वयनको पाटोमा ध्यान दिन जरुरी छ । सरकारले नीति, नियम बनाएपछि कार्यान्वयन, नियन्त्रण, नियमन पक्षमा विशेष जोड दिने हो भने नेपालमा सुर्तीजन्य पदार्थको सेवनकर्ता र उत्पादनमा कमी आउन सक्छ ।’

ऐन बनेको लामो समय बितिसक्दा पनि व्यावहारिक कार्यान्वयनमा सरकार नै उदासीन देखिएको आरोपसमेत लाग्दै आएको छ । सर्वोच्च अदालतबाटै सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर, पेटी तथा पार्सल प्याकेजिङ र लेबुलको बाहिरी कुल भागमध्ये ९० प्रतिशत भाग (७० प्रतिशत भागमा रंगिन चित्र र २० प्रतिशत भागमा चेतनामूलक) सन्देश र चित्र छाप्नुपर्ने परमादेश आएपछि सरकारलाई थप दबाब बढेको देखिन्छ ।

दीर्घरोगको कारक बन्दै सुर्तीजन्य पदार्थ

फोक्सो, श्वासप्रश्वास, मुख, घाँटीलगायत क्यान्सर प्रभावितको संख्या बढ्नुमा चुरोट, गुट्खा, खैनीलगायत सुर्तीजन्य वस्तुको प्रयोग मुख्य कारण रहेको चिकित्सकहरूको भनाइ छ ।

क्यान्सर प्रभावितको संख्या बढेसँगै उपचारमा आर्थिक भारसमेत बढिरहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालकोे एक अध्ययनअनुसार सुर्तीजन्य पदार्थको सेवनले हुने क्यान्सर रोगको पहिचान र उपचारमा एक व्यक्तिको खर्च सरदर नौ लाख ८१ हजार तीन सय ७० रुपैयाँ लाग्ने पाइएको छ । सुर्तीजन्य पदार्थको सेवनले गर्दा क्यान्सर भएको पुष्टि भएका केसहरूमा गरिएको अध्ययनले १८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूह प्रभावित भएको पाइएको छ । 

डा. रोशन प्रजापतिले नेपालमा मात्रै नभई विश्वभर सुर्तीजन्य पदार्थको प्रयोगका कारण क्यान्सर बिरामीहरू बढिरहेको बताए । उनका अनुसार सुर्तीजन्य पदार्थ, मद्यपान र धूम्रपानको अत्यधिक सेवन हुने स्थानमा मुख, फोक्सोलगायतका क्यान्सर बढी देखिएका छन् । भक्तपुर क्यान्सर अस्पतालमा आउने क्यान्सरका बिरामीमध्ये अधिकांशमा सुर्तीजन्य पदार्थको सेवन क्यान्सर भएको पाइएको डा. प्रजापतिले जानकारी दिए । उनका अनुसार गएको वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण भक्तपुर क्यान्सर अस्पतालमा फोक्सो क्यान्सरका बिरामीको संख्या एकदमै धेरै थियो ।

उनी भन्छन्, ‘सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ । यसले नाककान, घाँटी, मिर्गौला, आन्द्राको क्यान्सरलगायत गम्भीर रोग निम्त्याउनमा मुख्य भुमिका खेल्छ । जनचेतनाको अभावमा सुर्तीजन्य पदार्थको सेवनमा वृद्धि भइरहेको छ । सरकारले कानुन बनाएको भए पनि कार्यान्वयनको पाटो कमजोर छ ।’ सरकारले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन भनेर बारम्बार भनिरहँदा पनि नियमन र कडाइका साथ प्रस्तुत नहुँदा समस्या दिन प्रतिदिन बढिरहेको उनको बुझाइ छ ।

आगामी दिनमा भने सरकारले सुर्तीजन्य पदार्थको नियमन कडाइका साथ लागू गर्ने संकेत देखाएको छ । वर्तमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर बढाउने बताउँदै आएका छन् । सोबापत उठेको रकम निम्न आय भएका व्यक्तिको उपचारमा खर्च गर्ने उनको भनाइ छ ।  

  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार १७:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया