पर्यटक बसपार्क निर्माण गर्न भट्टराईको माग

नेकपा (एमाले)की सांसद विद्या भट्टराईले काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छन् । 

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले देशका विभिन्न पर्यटकीय सहरहरूमा जाने पर्यटकहरूका लागि व्यवस्थित र सुविधा सम्पन्न पर्यटक बसपार्क काठमाडौंमा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्,‘सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रूपमा मनाउने योजना अनुरूप नेपाल पर्यटन दशक रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ । तर देशको राजधानी काठमाडौंमा आजसम्म टुरिस्ट बसपार्क स्थापना हुन सकेको छैन । व्यवस्थित बसपार्क नबनेका कारण काठमाडौंको सोह्रखुट्टे सडकबाटै बस छुट्न बाध्य छन् ।’

सांसद भट्टराईले नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरू काठमाडौंमा बसपार्क नभएका कारण असुरक्षित भइरहेकाले पनि सरकारले उनीहरूलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाइ गर्न नहुने बताइन् । 

‘नेपाल प्रवेश गरेपछि देशका विभिन्न पर्यटकीय गन्तव्यहरूमा जानका लागि पर्यटकहरू असुरक्षित भएर सडकमा उभिनुपर्ने बाध्यता छ । काठमाडौंमा नेपालका प्रमुख पर्यटकीय सहरहरू पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायतका गन्तव्यहरू पर्यटकीय बसहरूले सेवा दिइरहेका छन्’, उनले भनिन्, ‘तर सबै बस व्यवसायी सडकबाटै पर्यटकहरू बोक्न बाध्य छन् । त्यसैले काठमाडौंमा एउटा व्यवस्थित र सुविधा सम्पन्न टुरिस्ट बसपार्क निर्माण गर्न आवश्यक छ । यसका लागि सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।’

सांसद भट्टराईले सरकारले नेपाल भ्रमण दशक घोषणा गरे पनि त्यस अनुरूपको तयारी गर्न नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरिन् ।  





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार ११:४८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया