देउवा र ओलीलगायत भिभिआइपीलाई पक्राउ गरी अनुसन्धान गर्न निवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतलाई पक्राउ गरी अनुसन्धान गर्न निवेदन परेकाे छ । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र पठाउँदै यस्ताे निवेदन दिएका हुन् । 

अधिवक्तासमेत रहेका सफलले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाे भन्दै देउवा, ओलीलगायत  भिभिआइपीलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न गृह मन्त्रीसमक्ष निवेदन दिएका हुन्। 

नक्कली शरणार्थी प्रकरणमा देउवाले प्रधानमन्त्री रहँदा 'ग्रिन सिग्नल' दिएको र ओलीले यो प्रकरणबारे सबै थाहा छ भनेकाे उल्लेख गर्दै उनीहरूलाई कानुनी दायरमा ल्याउन माग गरेका हुन् । 

निवदेनमा याे प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा र मञ्जु खाण, पूर्व गृहमन्त्री राम बहादुर थापा र बादलकी श्रीमती नैनकला थापा, बहालवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई (तत्कालीन गृह सचिव), नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वकीय सचिव राजेश बज्राचार्य, वाग्मती प्रदेशसभाका पूर्व सांसद अजय क्रान्ति शाक्यसहितलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएकाे छ । 

सफलले वर्तमान प्रहरी प्रमुख (तत्कालीन एसएसपी) वसन्त कुवँरको नाम पनि यो प्रकरणमा जोडिएको भन्दै उनलाई आइजिपीबाट बर्खास्त गरी कारबाही गर्नसमेत माग गरेका छन्।

यो प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। साथै, ३० जनाविरुद्ध विभिन्न मुद्दामा मुद्दा दर्ता गरिसकेको छ। यस प्रकरणमा नाम जोडिएका भिभिआइपीहरुमाथि अनुसन्धान नगरेको भन्दै सफलले गृहमन्त्रीलाई निवेदन दिएका हुन्।





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १८:९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया