बजेटमा साधारण खर्च घटेर आउँछ : योजना आयोग

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटमा सरकारी साधारण खर्च घटाएर ल्याइने बताएको छ । आयोगले चालू आर्थिक वर्षको लागि अनुमान गरेको आर्थिक वृद्धि र राजस्व परिचालनको लक्ष्य पूरा नहुने भन्दै मन्त्रालयगतका विकास बजेट सकेसम्म नघटाउने, तर साधरण खर्च घटाउने गरी बजेट निर्माण भइरहेको बताएको हो । 

आन्तरिक समस्या, पुँजी परिचालनमा समस्या, तरलतामा र बाह्य समस्या बढेका कारण मन्त्रालयगत साधारण खर्च कटौती गर्नुपरेको आयोगले स्पष्ट पारेको छ । साथै, सरकारले चालू आर्थिक वर्षको बजेटमा लिएको लक्ष्यअनुसार परिणाम आउने नदेखिएको बताएको छ । 

योजना आयोगका सदस्य डा.रामकुमार फुँयालले आगामी आर्थिक वर्षको बजेट सरकारी साधारण खर्च घटाउने गरी बजेट निर्माण भइरहेको बताए । सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा योजना आयागले गत आर्थिक वर्ष बनाएको खर्च संरचनामा अनुमान गरेअनुसार बजेट आउन नसक्ने पनि उनको भनाइ छ । सदस्य डा. फुँयालले चालू आर्थिक वर्षको बजेटको आकार १ खर्ब बढी घटेकाले आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत सिलिङ कटौती भएको बताए । 

साढे १५ अर्बको चालू आर्थिक वर्षको बजेट भएकाले योजना आयोगले आगामी आर्थिक वर्षको लागि दिएको बजेट सिलिङ १६ खर्ब ८८ अर्ब रहेको उनको भनाइ छ । गत वर्षको १७ खर्ब ९३ अर्बको हिसाबले १६ खर्ब ८८ अर्ब बजेट कम रहेको बताउँदै उनले योजना आयोगले बनाएको मध्यकालीन खर्च संरचनामा १९ खर्ब ३१ अर्बको बजेट आगामी २०८०/८१ मा बनाउने आकलन गरेको जानकारी दिए ।
 
योजना आयोगले दिएको बजेट सिलिङका आधारमा नै सरकारले बजेट ल्याउने उनले बताए । उनका अनुसार आगामी आर्थिक वर्षमा राजस्व संकलन, मूल्यवृद्धि र पुँजी निर्माण र खर्च कति गर्ने र खर्च पछिको उपलब्धि के हुने भन्ने विषय समेत तय भएको छ । गत वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोडको भए पनि बजेट कार्यान्वयनको क्रममा बजेटको आकार ठूलो भएर सरकारको लक्ष्यभन्दा कम राजस्व संकलन हुने भएकाले बजेट आकार घटाएको उनले स्पष्ट पारे । 

योजना आयोग बजेट निर्माणको काम सकेर १६औं आवधिक योजना बनाउने कार्यमा लाग्ने सदस्य फुयाँको भनाइ छ । समाजवादउन्मुख अर्थतन्त्रको ढाँचा प्रस्ट हुनेगरी सामाजिक आर्थिक रुपान्तरण सहितको सामाजिक न्यायसमेत जनताले पाउनेगरी १६औं आवधिक योजना बनाउन लाग्ने उनले बताए । मुलुक अल्पविकसित मुलुकबाट विकासोन्मुख देशमा रुपान्तरणका विषयमा केन्द्रित हुने उनले जानकारी दिए । 

मुलुकमा उत्पादन र उत्पादकत्व बढाउँदै उद्यमशीलताको विकास गर्ने, रोजागारी सिर्जना गर्ने र सबैलाई रोजगार दिनेगरी एउटै संरचनामा काम गर्नेगरी आयोगले काम गर्ने सदस्य फुयाँलको भनाइ छ । 





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १८:२९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया