नेपाल प्रहरीको दाबी : भुटानी शरणार्थी प्रकरणमा महानिरीक्षकको कुनै संलग्नता छैन

नेपाल प्रहरीले भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले आज एक विज्ञप्ति जारी गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरको कुनै संलग्नता नरहेको दाबी गरेका हुन् । 

‘कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको छ,’ प्रवक्ता कडायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय भएको बताएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद् रहेको प्रवक्ता कडायतले बताए । 

‘नेपाल प्रहरी सदैव संविधान, कानुन र संगठनको आफ्नै मूल्यमान्यतामा अडिग रही दोषी नछुटुन्, निर्दोष नफसुन् भन्नेमा सचेत र प्रतिबद्ध छ,’ विज्ञप्तिमा भनिएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्रहरी महानिरीक्षकले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपीलाई जोगाउन भूमिका खेलेको भन्दै उनलाई निलम्बन गरी सत्यतथ्य छानबिन गर्नुपर्छ भनी गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार २०:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया