पाठकमाझ हिरण्य भोजपुरेको ‘मुसुक्क म’

लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकमाझ आइपुगेका छन् । पब्लिकेसन नेपालयबाट प्रकाशित भोजपुरेको पुस्तक ‘मुसुक्क म’ बजारमा आएको हो । 

एक सय ८ वटा लघुकथाको यो संग्रहका अधिकांश कथा एउटा पानामै सकिएका छन् । अझ कतिपय त एक–दुई अनुच्छेदमै अभिव्यक्त भएका छन् । यी कथाहरुको सिंगो संग्रह एक बसाइमै पढिसकिने हिसाबले तयार भएको छ । डेढ सय पृष्ठको पुस्तकलाई तीन सय ५५ रुपैयाँ मूल्य राखिएको छ ।

नेपाली संगीतको फाँटबारे जानकारी राख्नेका लागि हिरण्य ‘भोजपुरे’ परिचित नाम हो । साढे पाँच दशकअघि नेपालमा केही तन्नेरी मिलेर सांगीतिक समूह ‘लेकाली’ जन्माएका थिए । त्यसमा विशेषगरी भोजपुरेबाहेक गणेश ‘रसिक’ र पछि भोजपुरेकै श्रीमती निर्मला श्रेष्ठलगायतको उपस्थिति थियो ।

भोजपुरकै ट्याम्के डाँडाको ओतमा जन्मे हुर्केका भोजपुरे र रसिकले ‘लेकाली’मार्फत दिएको योगदानबाट आजसम्म पनि नेपाली संगीत प्रभावित छ । उनीहरुले विशेषगरी लोक र आधुनिक नेपाली संगीतको माध्यमबाट आफ्नैखाले स्वाद विकास गरेका थिए ।

भोजपुरेको सिर्जनशीलता भने पिताको जागिरका सिलसिलामा मकवानपुरतिर रहँदा उनले २०२२ सालमा लेखेको ‘छहराको गीत’बाट सुरुभएको थियो । त्यसको शब्द थियोः

मलाइ प्यारो लाग्छ, मलाइ राम्रो लाग्छ
लहरा पहरा छहराको देश
पारि पारि हिमालमा उडिरहने
बादलुको केश, मेरो देश



आफैले संगीत दिएर गाएको भोजपुरेको यो गीत राष्ट्रिय भावनाका नेपाली गीतहरुमाझ अजम्बरी मानिन्छ ।

यसरी नेपाली साहित्यमा गीतकारका रुपमा उदाएका भोजपुरेले कालान्तरमा कविता, कथा, उपन्यास र बाल साहित्यजस्ता विविध विधामा थुप्रै पुस्तक दिइसकेका छन् । यसपटक भने उनी लघुकथाकारका रुपमा पाठकमाझ उपस्थित भएका हुन् ।
 
‘बाइरोडको बाटोमा धुलो उडाउँदै’का यी सर्जक आफूवरपरको परिवेशलाई सरल र रोचक शैलीमा वर्णन गर्न सिपालु छन् । उमेरको उत्तरार्धमा पनि साथीसंगत बीच रमाइलो गरिरहनुपर्ने स्वभावका भोजपुरेले आफ्नो त्यही गुण झल्कने हिसाबले जीवनका साना साना भोगाइबाट निस्कने भावलाई यी लघुकथामा अभिव्यक्त गरेका छन् । आख्यान भईकन पनि पढिरहँदा कतिपय भोगाइ उनको आफ्नै हुन् भनेर बुझ्न पनि सकिन्छ ।



‘जुन बखत, जस्तो घटनाले जसरी झस्का दिन्छ, त्यसको चस्का नै मेरो मनको बुनोट बन्छ,’ भोजपुरे यी लघुकथाको रचनाबारे भन्छन्, ‘मानवीय भावानुभूतिमा रम्नु र त्यही कुरा आफूलाई स्वान्त सुख दिने लेखनमा उतार्दा उतार्दै यो पुस्तक तयार भएको हो ।’

दुई विषयमा उतिबेलै स्नातकोत्तर भोजपुरे लामो समय सरकारी सेवामा पनि संलग्न रहे । तर, उनको पहिचान भने साहित्य र संगीतको समानान्तर साधनामै स्थापित छ । भोजपुरेले यी लघुकथाहरु छ वर्षयता सिर्जना गरेका हुन् ।

‘यीमध्ये अधिकांश कोरोना महामारीको समय सदुपयोग गर्दै लेखेको हुँ,’ भोजपुरे भन्छन्, ‘त्यो कालखण्डमा म छोरी ज्वाइँ, छोरा बुहारी र नातीनातिनासमीप अमेरिकातिर रहेकाले, प्रवासिँदाका नेपाली भोगाइ पनि यी कथामा समेटिन पुगेका छन् ।’

भोजपुरेकृत लघुकथा संग्रह ‘मुसुक्क म’लाई नेपालयले एकसाथ भौतिक पुस्तक, इबुक र लेखककै वाचनमा अडियो बुकका रुपमा बजारमा ल्याएको पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के बताउँछिन् । 

ईबुकको प्रतिलिपि र अडियो बुक thuprai.com बाट किन्न सकिन्छ । मास्केका अनुसार यो पुस्तक संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन् ।

  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार २१:५७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया