जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष रुपमा हुनुपर्ने बताएका छन् ।
बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष रुपमा गर्नुपर्ने बताएका हुन् । उनले अदालतले दोषी ठहर्याइएकाहरु कानुनी दायरामा जाने बताए ।
‘अनुसन्धान निष्पक्ष हुनुपर्छ । अनुसन्धानबाट प्रमाणित भएको देखिएकोलाई कानुनको दायरामा लैजानुपर्छ,’ उनले भने, ‘को पर्छन्, को पर्दैनन् भन्ने कुरा सेकेन्डरी कुरा हो । अनुसन्धानको कार्यलाई पूरा निष्पक्ष रुपमा हुन दिनुपर्छ । त्यसबाट देखिएका कुरा कानुनको दायरामा जान्छ र कानुनले, अदालतले जे ठहर्याउँछ त्यसलाई मान्नुपर्छ ।’
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
सचिव भट्टराईले प्रहरी महानिरीक्षक वसन्त कुँवरको पनि नाम सो प्रकरणमा जोडिएको उल्लेख गर्दै छानविनमा सहयोग गर्न आग्रह गरे । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो प्रकरणमा छानबिन गर्नुपर्ने अवस्था नभए पत्रकार सम्मेलन गरेर भए पनि प्रहरी महानिरीक्षक कुँवरले स्पष्ट पार्नुपर्ने बताए ।
सचिव भट्टराईले सो प्रकरणको छानबिनलाई निष्पक्ष, पारदर्शी स्वतन्त्र ढंगले अघि बढाउन नेपाल सरकारलाई पनि सचेत गराए । उनले भने, ‘हाम्रो पार्टीले नक्कली भुटाणी शरणार्थी केसमा निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले छानबिन गर्न नेपाल सरकारलाई भनिसकेको छ । प्रधानमन्त्रीजीलाई भनेको छौँ, गृहमन्त्रीजीलाई भनेका छौँ । पुलिस प्रशासनलाई भनेका छौँ । र, हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले प्रस्ताव पास गरेर के भनेको छ भने हाम्रै पार्टीका पनि जोसुकै नेता परुन । त्यसमा हामी छानविनका लागि सहयोग गर्न तयार छौँ ।'
सचिव भट्टराईले सो प्रकरणको छानबिनमा नेपाल प्रहरीमाथि हस्तक्षेप गर्न नहुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सरकारी अधिकारीले निश्चित अवधिका लागि सम्बन्धित पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने बताए । नाम जोडिएकाहरु सबैले आफैँ प्रहरीसमक्ष गएर अनुसन्धानमा सघाउन पनि उनले आग्रह गरे ।
‘चाहे प्रधानमन्त्रीसम्मै त्यो पहरो तानियो भने पनि पछाडि हट्नुहुँदैन,’ उनले भने, ‘ज–जसका नाम आइराखेका छन्, सबभन्दा राम्रो कुरा त के हुन्छ भने आफैँ प्रहरी सम्पर्कमा गएर नैतिकताका हिसाबले यदि उहाँहरुलाई विवाद मात्रै पारिएको भन्ने उहाँहरुको तर्क हो भने प्रहरीमा आफैँ जाने र गएर आफैँले बयान दिने ।’
ज–जसका बारेमा प्रश्न उठेका छन्, प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने उनले बताए । ‘जो–जो बहालवाला पदमा हुनुहुन्छ । उहाँहरुले त झन् बरु निश्चित अवधिका लागि त्यो पदीय जिम्मेवारी छाडेर अनुसन्धान गर्नुहोस् भनेर मार्गप्रशस्त गर्नु सबभन्दा धेरै नैतिक पाठ हुन्छजस्तो लाग्छ,’ उनले भने, ‘सरकारले दबाब लिनुहुँदैन यसमा । हामी त के सुझाव दिइराखेका छौँ प्रधानमन्त्रीलाई भने यो भ्रष्टाचारको विषय छानबिन गर्दै जाँदा सरकार ढलेछ भने पनि त्यसका लागि तयार हुनुपर्छ ।’
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आरोपितहरुले बयान गर्दा लिएका नामहरु उपर पनि छानबिन हुनुपर्ने बताए । ‘यदि बयान गर्ने मान्छेहरु खराब हुन् भने त्यही किसिमले बाहिर आओस् । बयान गरिएको सत्य हो भने तिनीहरुलाई पनि कानुनी दायरामा ल्याइयोस् ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी प्रमुखको संलग्नता देखिएमा त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले लिनुपर्ने बताए ।
छानबिन निष्पक्ष हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘यस अनुसन्धानका दौरानमा अनुसन्धान संगठनका प्रमुखले आफ्नो संलग्नता कहीँ रहेको कुरो यदि आउँछ भने, कहीँबाट देखिन्छ भने त्यसको जवाफदेहिता लिनुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।