logo-img

राजमार्गमा ऐँसेलु बेच्नेहरूको कथा

वनपाखा चहारेर ऐँसेलु टिप्छन् । मल्लाताको हरियो पातलाई सोली आकारमा बेर्छन् । त्यसैमा ऐँसेलु भर्छन् र राजमार्ग छेउ आइपुग्छन् । ऐँसेलु टकार्दै गाडीको झ्यालतिर हात लम्काउँछन् । यात्रुलाई ऐँसेलु किन्न विनयपूर्वक आग्रह गर्छन् । कसैले गाडी रोकेर ऐँसेलु किन्छन्, कोही वास्तै नगरी हुइँकिन्छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेका कतिपय महिलाले हिजोआजको दैनिकी यसरी नै कटाउँछन् । मङ्गलबार मध्यपहाडी पुष्पलाल लोकमार्गमा मनमाया विकसँगै तीन महिला ऐँसेलु बेचिरहेका भेटिए । झरीकोसमेत पर्वाह नगरी उनीहरू हातमा ऐँसेलु लिएर सडक किनारमा उभिइरहेका थिए ।



विकले काँडाले कोतरेका हत्केला देखाउँदै ऐँसेलु टिप्नु दुःखजिलो काम भएको सुनाइन् । ‘बिहानमा ऐँसेलु टिप्छौँ, दिउँसो बाटोमा ल्याएर बेच्छौँ,’ उनले भनिन्, ‘टाढाटाढा वनमा जानुपर्छ, गाह्रो भए पनि घरखर्च जुटाउन काम गर्नैपर्‍यो ।’ 

महिला टपरीझैँ खिपेको हरियो पातमा ऐँसेलु राखेर बेच्छन् । एउटाको मूल्य १ सय रुपैयाँ राखेका छन् । कुनै दिन त एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्छन् । दैनिक ज्यालादारी कामकोभन्दा धेरै पैसा आउन थालेपछि महिला ऐँसेलुतिर आकर्षित भएका हन् ।

‘ऐँसेलु बेच्न सजिलो त छैन, धेरैले त वास्तै गर्नुहुन्न, कोहीकोहीले गाडी रोकेर चाख मानीमानी किनेर खानुहुन्छ,’ विकले भनिन्, ‘फुर्सदका दिनको सदुपयोग पनि भएको छ, घरगुजारा चलाउन अलिअलि पैसा पनि हुन्छ ।’ बढीजसो सहरिय मानिसको रोजाइमा ऐँसेलु पर्छ । विदेशी पर्यटकले पनि किनेर खान्छन् । 

लोकमार्गले छोएको कास्कीको फेँदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँपुलसम्मै वसन्तयाममा ऐँसेलु बेच्ने भेटिन्छन् । पहाडी भेगका अरू राजमार्ग छेउछाउ पनि ऐँसेलुको किनमेल हुन थालेको छ । 



बिदाका दिनमा त बालबालिका पनि ऐँसेलु बेच्न बाटोमा निस्कन्छन् । वयस्क पुरुष भने यो काममा खासै भेटिन्नन् । बागलुङको काठेखोला गाउँपालिका–५ का दुई दाजुभाइ शिशिर र विश्वास पनि केही दिनअघि सडकमा ऐँसेलु बेचिरहेका भेटिए ।

शनिबारको फुर्सद पारेर गाउँ नजिकैको वनबाट ऐँसेलु टिपेर ल्याएको शिशिरले सुनाए । त्यसअघि उनीहरूलाई ऐँसेलु बिक्री हुन्छ भन्ने थाहा पनि थिएन । अन्यत्र पनि सडकमा ऐँसेलु बेचेको देखेर आफूहरूले सिकेको शिशिरले बताए । 



कापीकलम र खाजाखर्च जुटाउने सोचले ऐँसेलु बेच्न बसेको उनको भनाइ थियो । उनीहरूसँग ऐँसेलु किनेर खाएपछि गोरखाका अमृतराज उपाध्ययले बालपनको सम्झना आएको बताए । उनले पोखरादेखि गलकोटसम्म पुग्दा ठाउँठाउँमा ऐँसेलु बेच्न बसेका मानिस भेटेको सुनाए ।

पहिलेपहिले वनपाखा धाएर ऐँसेलु, चुत्रोलगायत फल खाने चलन थियो । पछिल्लो समय त्यो क्रम हट्दै गएको छ । चैतदेखि जेठसम्म डाँडापाखामा ऐँसेलु पाक्ने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताए । 

‘ऐँसेलुबाट जुस, वाइन पनि बनाउन सकिने विज्ञले बताएका छन् । तर, हामीकहाँ यसबारे खासै चासो र अध्ययन भएको पाइँदैन,’ उनले भने, ‘केही ठाउँमा ऐँसेलु सङ्कलन गरेर बेच्न थालिएको छ, वनमा यसै खेर जाने फलबाट किसानले कमाइ गर्नु सुखद कुरा हो ।’

वनस्पति विज्ञका अनुसार मझौला काँडेदार बुट्यान (झाडी) मा ऐँसेलु फल्छ । पहाडी भेगको सातसयदेखि २ हजार मिटरसम्ममा ऐँसेलु पाइन्छ । यो फल रसिलो र गुलियो हुन्छ । ऐँसेलु प्रकृतिमा आफैं उम्रेर वर्षौँसम्म टिक्ने वनस्पति हो । अपच भएको अवस्थामा ऐँसेलु प्रयोग गर्नु लाभदायी मानिन्छ । 

ऐँसेलुमा भिटामिन सीलगायत सूक्ष्म पोषकतत्व पाइन्छ । ऐँसेलुको जरामा पनि औषधीय गुण हुन्छ । यो पूर्णरूपमा जैविक फल हो । ‘गोल्डेन हिमालयन रासबेरी’ ले चिनिने ऐँसेलु वाइनका लागि खपत हुन थालेपछि तेह्रथुमलगायत पहाडी जिल्लाका किसानको आयआर्जनको बाटो बनेको छ, ऐँसेलु । रासस 

  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया