करोडौंमा बनेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगविहीन

उद्योग संघ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगविहीन अवस्थामा रहेको छ । विसं. २०७७ मा निर्माण सुरु भएको सो प्रदर्शनी स्थल छ महिना अघि निर्माण सम्पन्न भएको हो । तर त्यसयता प्रयोगविहीन अवस्थामा छ ।

बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले  १ करोड ८० लाख रुपैयाँको लागतमा निर्माण गरेको सो प्रदर्शनीस्थल हस्तान्तरण कसलाई गर्ने भन्ने निर्णय नभएकाले अलपत्र परेको हो । 

निर्देशनालयका निर्देशक गोविन्द सिग्देलका अनुसार भवन निर्माणको समयमा संरचना निर्माण सम्पन्न भएसँगै उद्योग संघलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो । उनले भने, ‘संघीय सरकारले सो जग्गा २९ वर्षका लागि उद्योग संघलाई भाडामा दिएको हुँदा त्यो निर्णय भएको हो । तर मन्त्रीस्तरको निर्णयले त्यो सम्झौता बदर भएको छ ।’

तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठको कार्यकालमा निर्माण सम्पन्न भएको सो संरचना उद्योग संघलाई हस्तान्तरण गर्ने निर्णय बदर भएको उनले बताए । उनले भने, ‘मन्त्रीस्तरको निर्णयका कारण कसलाई संरचना हस्तान्तरण गर्ने भन्ने अनिर्णय बनेको छ । अब मन्त्री पाएका छौँ केही निर्णय हुन्छ ।’

प्रदेश सरकारले प्रदेशभित्रका लघु तथा साना उद्योगको उत्पादित सामग्रीलाई बजारीकरण गर्ने उद्देश्यले स्थापना गरेको यस बिक्री कक्ष तथा स्थायी प्रदर्शनी केन्द्र अहिले संरक्षण र व्यवसायीको पर्खाइमा रहेको छ । यस भवनमा वर्षभरि नै व्यवसाय प्रवर्द्धन गर्न सकिने भए पनि सञ्चालनमा नआउँदा लघु तथा साना उद्योगीले लाभ लिन पाएका छैनन् ।   





  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार १०:४२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया