भारत भर्सेस पाकिस्तान : कोसँग कति तागत ?

पुलवामामा भएको आत्मघाती आक्रमणको एक सातापछि भारतले कस्मिरस्थित पाकिस्तानी सीमाभित्र रहेको विद्रोहीहरुको क्याम्पमा हवाई आक्रमण गर्यो । त्यसयता, भारत र पाकिस्तानबीच सीमाक्षेत्रमा पटकपटक गोलाबारी भएका छन् ।

मंगलबार कस्मिरस्थित सीमाक्षेत्रमा भएका गोलाबारीमा ४ पाकिस्तानी सैनिए मारिएको भारतले दाबी गरेको छ । उता, आफ्नो हवाई क्षेत्रभित्र छिरेका दुई भारतीय लडाकु विमानलाई पाकिस्तानी सेनाले गिराएको पाकिस्तानको दाबी छ ।  

आक्रमण–प्रत्याक्रमणको यो सिलसिलाले आणविक शक्तिसम्पन्न दुई छिमेकीलाई युद्धको संघारमा पुर्याएको छ ।

पछिल्लो द्वन्द्वको बिउ १४ फेब्रुअरीमा भारतको जम्मु–कस्मिर जोड्ने राजमार्गअन्तर्गत पुलवामामा भारतीय सुरक्षाकर्मी बोकेका गाडीको लस्करमाथि भएको आत्मघाती आक्रमणले रोपेको हो । पाकिस्तान–बेस्ड सशस्त्र विद्रोही समूह जैस–ए–मोहम्मदले जिम्मा लिएको आक्रमणमा ४२ भारतीय सुरक्षाकर्मी मारिएका थिए ।

सन् १९४७ मा अलग भएका भारत र पाकिस्ताबीच विवादास्पद भूमि कस्मिरलाई लिएर यसअघि पनि दुईपटक युद्ध भइसकेको छ । हमेसा तनावपूर्ण सम्बन्धमा रहेका दुई छिमेकी यतिखेर तेस्रो युद्धको संघारमा देखिन्छन् ।  

अन्तर्राष्ट्रिय शक्तिहरुको मध्यस्ततामा तनाव शान्त पार्ने प्रयास त भइरहेको छ, तर दुवै देशका जनतादेखि मिडिया र राजनीतिक नेतृत्वसम्म व्याप्त एकअर्काप्रतिको आक्रोश हेर्दा थप द्वन्द्व नचर्किएला भन्न सकिन्न । 



हेरौँ, युद्धको संघारमा देखिएका क्षेत्रीय प्रतिस्पर्धी यी दुई मुलुकबीच सैन्यशक्तिमा को कति अब्बल छ त ? 

सुरक्षा बजेट



गत वर्ष (सन् २०१८) भारतले आफ्ना १४ लाख सेनाका लागि ४० खर्ब भारतीय रुपैयाँ अर्थात् देशको जिडिपीको २.१ प्रतिशत रकम छुट्याएको थियो । सोही वर्ष पाकिस्तानले ६ लाख ५३ हजार सेनाका लागि १२.६ खर्ब पाकिस्तानी रुपैयाँ अर्थात् देशको जिडिपीको ३.६ प्रतिशत रकम विनियोजन गर्यो ।

१ पाकिस्तानी रुपैयाँ बराबर ०.५१ भारतीय रुपैयाँ हुन्छ । यस हिसाबले पाकिस्तानको गत वर्षको कुल सैन्य बजेट ६.४३ खर्ब भारतीय रुपैयाँ हुन्छ, जुन भारतको सैन्य बजेटभन्दा ६ गुणाजति कम हो । 

इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिज (आइआइएसएस) का अनुसार १९९३ देखि २००६ सम्म पाकिस्तानको वार्षिक सरकारी खर्चको २० प्रतिशतभन्दा बढी सैन्य क्षेत्रमा खर्च हुन्थ्यो, जुन २०१७ मा १६.७ प्रतिशत रह्यो । 

यता, भारतको सैन्य खर्च १९९३ देखि २००६ को अवधिमा १२ प्रतिशत भन्दा माथि थिएन, र यो २०१७ मा ९.१ प्रतिशत रह्यो । 

मिसाइल र आणविक हतियार 

दुवै राष्ट्रसँग आणविक हतियार प्रक्षेपण गर्न सक्ने ब्यालिस्टिक मिसाइल छन् । 

भारतसँग ३ हजारदेखि ५ हजार किलोमिटरसम्म मार हान्ने अग्नि–३ सहित नौ प्रकारका अपरेसनल मिसाइल छन् । 

चीनको सहयोगमा मिसाइल योजना चलाएको पाकिस्तानसँग छोटो र मध्यम दुरीका हतियार छन्, जसले सिमाना जोडिएको भारतको जुनसुकै भागमा मार हान्न सक्छन् । सबैभन्दा लामो दुरीको साहिन–२ ले २ हजार किलोमिटरसम्म मार हान्छ । 

२०११ मा पाकिस्तानले ‘ट्याक्टिकल न्युक्लियर विपन क्यापेबिलिटी’ हासिल गरेको पुष्टि गर्यो । त्यतिखेर उसले भारतको परम्परागत आक्रमणहरुलाई निरुत्साहित गर्न छोटा दुरी (५०–१०० किमि) का मिसाइलमा साना ‘न्युक्लियर वारहेड’ जोडेर प्रक्षेपण गर्न सक्ने देखायो । 

पाकिस्तानका थुप्रै स–साना आणविक हतियारहरुले उसलाई भारतको परम्परागत सैन्यबलसामु प्रतिरक्षामा पूर्ण बनाएको छ । पाकिस्तानसँग १४० देखि १५० न्युक्लियर वारहेड छन्, जुन भारतसँग १३० देखि १४० का बीच रहेको आइआइएसएसको अनुमान छ । 

आर्मी

भारतसँग १२ लाख सैनिक रहेको सशक्त आर्मी छ । जससँग ३,५६५ ब्याटल ट्यांक, ३,१०० इन्फ्यान्ट्री फाइटिङ भेहिकल, ३३६ आर्मोर्ड पर्सनेल क्यारियर र ९,७१९ पिस आर्टिलरी छ । 

पाकिस्तानको सेना पनि उत्तिकै सशक्त छ । ५ लाख ६० हजार पाकिस्तानी सैनिकसँग २४९६ ट्यांक, १६०५ आर्मोर्ड पर्सनेल क्यारियर, ३७५ सेल्फ–प्रोपेल्ड ह्विट्जरसहित ४४७२ आर्टिलरी गन छन् ।

ठूलो संख्याका बाबजुद हतियारहरुको अगतिलो व्यवस्थापन, मेन्टेनेन्सको कमी र गोलिगट्ठा र स्पेयर पार्टहरुको अभावले भारतीय परम्परागत सैन्यबलको सामर्थ्य सीमित गरिदिएको आइआइएसएसको विश्लेषण छ ।  

एयर फोर्स

भारतको एयरफोर्स पाकिस्तानको भन्दा निकै ठूलो छ । भारतीय हवाई सेनामा १ लाख २७ हजार २ सय सैनिक र ८१४ लडाकु विमान छन् । तर, भारतको फाइटर जेट फ्लिटसँग केही समस्या भने छन् । 

भारतको सुरक्षा योजनाअनुसार, चीन र पाकिस्तानबाट हुन सक्ने दुईतर्फी हमलाको प्रतिकार गर्न ४२ स्क्वाड्रोन जेट र ७५० लडाकु विमान आवश्यक पर्छ ।

अधिकारीहरुका अनुसार, फेज आउट हुन लागेको पुरानो रुसी जेट एमआइजी–२१ सहित ऊसँग २०३२ सम्म जम्मा २२ स्क्वाड्रोन पुग्नेछ । 

पाकिस्तानसँग चिनियाँ एफ–७ पिजी र अमेरिकी एफ–१६ फाइटिङ फल्कोन जेटसहित ४२५ लडाकु विमान छन् । ऊसँग ७ वटा एयरबर्न अर्ली वार्निङ एन्ड कन्ट्रोल एयरक्राफ्ट छन्, जुन भारतसँग ४ वटा मात्र छ । 

नेभी

भारतीय नेभी (जलसेना) सँग एउटा एयरक्राफ्ट क्यारियर, १६ पनडुब्बी जहाज, १४ डिस्ट्रोयर, १३ फ्रिगेट, १०६ प्याट्रोल र कोस्टल कम्ब्याट्यान्ट भेसल, र ७५ कम्ब्याट–क्यापेबल एयरक्राफ्ट छन् । ऊसँग मराइन र नेभल एभियसन स्टाफसहित ६७ हजार ७ सय सदस्य छन् । 

तुलनात्मक रुपमा निकै सानो समुद्री किनारा रहेको पाकिस्तानको नेभीमा ९ फ्राइटेज, ८ पनडुब्बी जहाज, १७ प्याट्रोल र कोस्टल भेसल, र ८ कम्ब्याट क्यापेबल एयरक्राफ्ट छन् । 
 

  • प्रकाशित मिति : फागुन १६, २०७५ बिहीबार १७:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया