बजेट भाषणका लागि किन राखियो १५ जेठ अपराह्न ४ बजेको टाइमलाइन ?

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार (भोलि) अपराह्न ४ बजे संघीय संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै छन् । हरेक वर्ष १५ जेठमा सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही कारण कुनै पनि हालतमा जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्छ । यो दिनमा पनि सरकारले अपराह्न ४ बजे नै बजेट सार्वजनिक गर्ने गरेको छ। 

नेपालको संविधान २०७२ को धारा ११९(३) ले नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पेस गर्ने व्यस्था गरेको छ। यो मिति अनिवार्य हो। 

नेपालमा २१ माघ २००८ सालदेखि बजेट प्रणालीको सुरुवात भएको मानिन्छ। तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरबाट सर्वप्रथम बजेट प्रस्तुत भएको थियो । 

विगतका दिनमा असार २७/२८/२९ मा सरकारको बजेट तथा कार्यक्रम सार्वजनिक हुन्थ्यो। साउन-भदौभर छलफल र पास हुनमै समय बित्थ्यो। त्यसपछि दसैंतिहार लाग्ने र काम मंसिरदेखि मात्र सुरु हुन्थ्यो। 

जसबाट ठूला आयोजना मंसिर पुसमा मात्र ठेक्का लाग्थ्यो र काम प्रभावित हुन्थ्यो। त्यसले गर्दा बजेट समयमा पेस गर्न नसक्नु र कार्यन्वयन पक्ष फितलो हुने हुनाले संविधानमै व्यवस्था गरेर जेठ १५ मै बजेट तथा कार्यक्रम ल्याउन थालिएको अर्थविद् प्राडा गोविन्द नेपाल बताउँछन्। 

‘विगतको दिनलाई हेर्ने हो भने १५ जेठमै बजेट कार्यक्रम सार्वजनिक गर्नुपर्छ भन्ने संवैधानिक व्यवस्था थिएन,’ उनी विगत कोट्याउँछन््,‘तर, ती वर्षहरूमा सरकारले बजेट समयसीमाभित्र पेस गर्न सकेन। केही वर्ष सरकारले अध्यादेशमार्फत समेत बजेट ल्याएको थियो। तर, पनि बजेट कार्यन्वयन हुन सकेन।’



समयमा पेस गर्न नसक्नु र कार्यन्वयन पक्ष फितलो भएकै कारणले संविधानमा नै बजेट सार्वजनिकको मिति तोक्ने व्यवस्था गरिएको हो । यसरी संविधानमा नै बजेट सार्वजनिक गर्ने निश्चित मिति तोक्दा सरकारलाई बजेट निर्माणमा दबाब पर्ने उनी बताउँछन्। र, जेठ १५ मा बजेट आउँदा बजेट कार्यान्वयन ३६५ दिन नै हुन्छ।

साथै संघीय संरचनाका कारण पनि बजेट चाँडो आएको हो। ‘बजेट असारमै आउँदा पनि धेरै फरक त पर्दैन। असारमा आउँदा वर्षभर के गरियो भनेर पनि आउँथ्यो,’ उनी भन्छन्, ‘तर, जेठ १५ मा संघीय बजेट आउँदा सातै प्रदेश सरकारले असार १ गते र ७५३ स्थानीय तहले असार १० गतेभित्रमा बजेट ल्याउँछन्। त्यसकारण पनि राष्ट्रको बजेट चाँडो आएको हो।’



बजेटमा विशेषगरी सरकारले एक आर्थिक वर्ष भित्र गर्ने आय व्ययको अवस्थाको बारेमा जानकारी गराइन्छ । सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिहरु हासिल, मूल्यवृद्धि नियन्त्रण, पूर्वाधार निर्माण, खर्च व्यवस्थापन लगायतमा केन्द्रित भएर बजेट निर्माण गरिने हुन्छ । यसरी आर्थिक वर्षको सुरुवातमा नै बजेट कार्यन्वयन हुँदा विकास निमार्णको कार्यले गति पाउँछ भने अर्थतन्त्रसमेत गतिशील बन्ने उनको विश्लेषण छ। 

बजेट जेठ १५ गते सार्वजनिक गरिए तापनि यसको कार्यन्वयन श्रावण १ गतेबाट नै हुन्छ। तर, १५ जेठमा भन्दा पनि वैशाखमा बजेट कार्यक्रम सार्वजनिक गर्नुपर्ने तर्क राख्छन्, अर्का अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी। 

‘नेपालमा अधिकांश मानिस असार साउनमा काममा नै व्यस्त हुन्छन्,’ उनी भन्छन्, ‘र, अहिले पनि काम मंसिरदेखि नै सुरु भइरहेका छन्। तर, सरकारले यही व्यवस्था हटाउन सरकारले संवैधानिक व्यवस्था गरेको हो। अझै काम प्रभावकारी हुन सकेको छैन। त्यसकारण हाम्रो आर्थिक वर्ष वैशाखमा राखौँ।’ वैशाखदेखि आर्थिक वर्ष सुरु गर्ने हो भने वैशाखदेखि नै काम हुँदा दसैँतिहारले पनि असर नगर्ने उनको तर्क छ। 

अहिले विकास खर्च कम हुनुको कारण पनि आर्थिक वर्ष साउनमा सुरु गरिएका कारण भएको उनको तर्क छ । बजेट कार्यान्वयनजन्य समस्या समाधान गर्ने उद्देश्य राखेर संविधानमै बजेट पेस गर्नुपर्ने व्यवस्था गरिए पनि कार्यान्वयन पक्ष फितलो रहेको उनको विश्लेषण छ। 

‘साउन १ गतेबाटै बजेट कार्यान्वयन हुने गरी विनियोजित बजेट निकासा गर्ने व्यवस्था पनि गरिएकै हो,’ उनी निराशा व्यक्त गर्छन्, ‘तर खासै कार्यपद्धतिमा सुधार भएको देखिँदैन। अझै पनि विनियोजित बजेट खर्च गर्नका लागि असार नै पर्खिएको देखिन्छ। ४५ दिनअघि बजेट ल्याउनुको तात्विक प्रभाव खासै देखिएको छैन।’

तर, असार अन्तिममा आउनुभन्दा जेठमा आउनु केही सकारात्मक कुरा भएको उनी बताउँछन्। ‘नहुने मामाभन्दा ...मामा जाति भनेजस्तै असार अन्तिममा आउनुभन्दा जेठ १५ मा आउनु धेरै सकारात्मक कुरा हो,’ उनी भन्छन्, ‘विकास खर्च गर्न यसले केही भूमिका खेलेको छ। यसलाई कागजमा भन्दा पनि कार्यान्वयनको पक्षलाई ध्यान दिनुपर्छ।’

किन ४ बजे नै?

बजेट हरेक वर्ष १५ जेठमा सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । यो दिनमा पनि सरकारले अपराह्न ४ बजे नै बजेट सार्वजनिक गर्छ। यस्तो परम्परा लामो समयदेखि नै चलिरहेको छ ।

बजेट निर्माणका विधि र प्रक्रिया छन् । अर्थ मन्त्रालयले बनाउने भन्दैमा मन्त्रीले सीधै संघीय संसद्मा पेस गर्ने होइन । बजेट निर्माणदेखि संसद्मा पेस हुने अवधिसम्मको आफ्नै विधि र प्रक्रिया छ, त्यसअनुसार अघि बढ्नुपर्ने हुन्छ । त्यसकारणले १५ जेठ अपराह्न ४ बजे नै बजेट सार्वजनिक हुने पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा बताउँछन्।

उनका अनुसार प्रणालीगत रूपमा १५ जेठका दिन कम्तीमा चारवटा चरण पार गर्नुपर्छ । जसले गर्दा कम्तीमा ४ बज्छ। उनी भन्छन्, ‘१५ जेठमा बिहान ८—९ बजे प्रधानमन्त्रीको अध्यक्षता राष्ट्रिय योजना आयोगको बैठक बस्छ । त्यसमा आयोजका उपाध्यक्ष, सदस्य, मुख्य सचिव, अर्थ सचिवलगायत हुन्छन्। बैठकले बजेट पास गरेपछि सिफारिस अर्थ मन्त्रालय पठाइन्छ। अर्थ मन्त्रालयबाट उक्त निर्णयलाई मन्त्रिपरिषद्मा पेस गरिन्छ । सोही दिन मन्त्रिपरिषद् बैठक बस्छ । मन्त्रिपरिषद् बैठकले बजेट पास गरी पेस गर्न संसदमा पठाउँछ । मन्त्रिपरिषद्बाट पास भएको बजेट प्रिन्ट गरी संसदमा सबै सांसदलाई वितरण गरिन्छ। यी सबै प्रक्रिया पूरा गर्दा बजेट सार्वजनिक जहिल्यै अपराह्न ४ बजे समय पुग्छ। हामीले बिहान ११—१२ बजेट प्रस्तुत गर्नुपरेको कारण यो हो।’

नेपालमा संसद नभएको बेला अध्यादेशबाट बजेट सार्वजनिक भएका छन् । यस्ता बजेट भने ४ बजेभन्दा छिटो पनि सार्वजनिक भएका छन् । तर, संसदमा सार्वजनिक भएका अधिकांश बजेट अपराह्न ४ बजे नै सार्वजनिक गरिएका छन् ।

  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार १९:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया