गणतन्त्र दिवसमा देउवाको सन्देश- यही शासनबाट नै नेपाललाई सम्पन्न राष्ट्रमा रूपान्तरण गर्न सकिन्छ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका ऐतिहासिक जनआन्दोलनमा देशका थुप्रै होनहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको पनि उल्लेख गरेका छन् । देउवाले आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सबै वीर सहिदप्रति दिवसका अवसरमा उनीहरूको समर्पण, साहस र बलिदानको स्मरण गर्दै उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलतापश्चात् कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको पनि उल्लेख गरेका छन् ।

देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने पनि सन्देशमा उल्लेख गरेका छन् ।

मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेमा उनको विश्वास छ । देउवाले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।  

गणतन्त्र कार्यान्वयनका लागि १५ जेठ २०६५ मा संविधानसभाको पहिलो बैठकमा पेस गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । 






  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार ७:१६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया