राष्ट्रपतिले आममाफी दिएपछि जेलमुक्त भए रेशम चौधरी
तस्बिर : एलिजा गौतमको फेसबुकबाट

टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज कारागारबाट रिहा भएका छन् । उनी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि रिहा भएका हुन् ।  

मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । ५ वर्ष ३ महिना जेल सजाय काटेका चौधरीले १४ वर्ष ९ महिना जेल सजाय छुट पाएका हुन् ।  

उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए । 

उनीहरूले रेशमलाई फूलमालाले स्वागत गरेका छन् । यसपटक उनीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् । 

२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरूहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यहीक्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । 

घटनाको योजनाकारको आरोप लागेका रेशम भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा उनी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । 



उनले १५ फागुन २०७४ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । टीकापुर घटनामा रेशम दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाए । 

गत २ जेठमा सर्वोच्च अदालतले पनि उच्च अदालतको फैसला सदर गरेको थियो । तर, उनलाई सरकारले गणतन्त्र दिवसको उपलक्ष्यमा माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो । अन्ततः रेशम सोमबार कारागारबाट रिहा भएका छन् । 



  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार ८:३३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया