रिहापछि रेशम चौधरी भन्छन्- टीकापुरमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्छ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशमलाल चौधरीले टीकापुर हत्याकाण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन् । सोमबार डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले टीकापुर घटनामा मारिएका परिवारले पनि न्याय पाउनुपर्ने बताएका हुन् ।

चौधरीले त्यसका लागि आफू र आफ्नो पार्टीले सघाउने बताए । ‘आफ्ना श्रीमान्, छोराछोरी, दाजुभाइहरू कसरी मारिए भनेर थाहा पाउनुपर्छ । त्यसका लागि म पनि सघाउन तयार छु, नागरिक उन्मुक्ति पार्टीले सघाउछ ।’   

उनले टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने बताए । उनी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि रिहा भएका हुन् ।    

मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । ५ वर्ष ३ महिना जेल सजाय काटेका चौधरीले १४ वर्ष ९ महिना जेल सजाय छुट पाएका हुन् ।    

२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरूहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यहीक्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । 

घटनाको योजनाकारको आरोप लागेका रेशम भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा उनी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए ।  



उनले १५ फागुन २०७४ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । टीकापुर घटनामा रेशम दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए ।  

गत २ जेठमा सर्वोच्च अदालतले पनि उच्च अदालतको फैसला सदर गरेको थियो । 



  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार ९:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया