टीकापुर हत्याकाण्डमा जो दोषी छ उसले त सजाय पाउँदै पाएन : रेशम चौधरी

नागरिक उन्मुक्ती पार्टी (नाउपा) का नेता तथा पूर्वसांसद रेशमलाल चौधरीले टीकापुर हत्याकाण्डका पीडित र आफूहरूबीच अन्तरक्रिया हुनुपर्ने बताएका छन् ।

सोमबार डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले टीकापुर घटनामा मारिएकाहरूका परिवारले पनि न्याय पाउनुपर्ने उल्लेख गर्दै फेरि दुवै पक्षबीच अन्तरक्रिया हुनुपर्ने बताएका हुन् । 

पीडित परिवारले आफूहरूलाई आरोप लगाए पनि टीकापुर घटनाका दोषीले भने सजाय नपाएको रेशमको भनाइ छ । 

‘उहाँहरू (पिडीत) र हामीबीचमा अन्तरक्रिया गरिनुपर्छ । उहाँले हामीलाई दोषी देख्दै हुनुहुन्छ, हामी भन्दै छौँ– जो दोषी छ उसले त सजाय पाउँदै पाएन । जो दोषी थियो उत मन्त्री बन्यो, जो दोषी थियो उसलाई त राज्यले उपहार, पुरस्कार दियो यस्तो दुर्भाग्य घटना नहोस्, उहाँले जसलाई विश्वास गर्नुभएको छ, उहाँहरू जोसमक्ष याचना गरिराख्नु भएको छ, कतै उहाँलाई पीडा दिनेको घरको ढोका त खट्खटाइराख्नु भएको छैन ? यो गम्भीर कुरा हो,’ चौधरीले भने । 

चौधरीले टीकापुर घटनाका पीडितलाई न्याय दिलाउन आफू र आफ्नो पार्टी तयार रहेको पनि बताए । ‘आफ्ना श्रीमान्, छोराछोरी, दाजुभाइहरू कसरी मारिए भनेर थाहा पाउनुपर्छ । त्यसका लागि म पनि सघाउन तयार छु, नागरिक उन्मुक्ति पार्टीले सघाउछ ।’  

उनले लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक हुनुपर्ने बताए । उनी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि रिहा भएका हुन् ।



मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । ५ वर्ष ३ महिना जेल सजाय काटेका चौधरीले १४ वर्ष ९ महिना जेल सजाय छुट पाएका हुन् ।    



  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार ९:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया