पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्साले कूटनीतिक विवाद निम्त्याउनसक्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत भट्टराईले भारतको यो कदमले नेपाललगायत छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका हुन् । सो नक्साको अभिप्रायबारे भारतीय नेतृत्वले जानकारी दिनुपर्ने भट्टराईको माग छ ।
‘अखण्ड भारतको विवादास्पद नक्साले नेपाललगायतका छिमेकमा अनावश्यक र हानिकारण कूटनीतिक विवाद निम्त्याउन सक्छ । यसले भारतका निकटतम् छिमेकीहरूबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने सम्भावना छ । त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुन्छ,’ भट्टराईले ट्विटरमा लेखेका छन् ।
The controversial mural of ‘Akhand Bharat’ in the recently inaugurated new Parliament building of India may stoke unnecessary and harmful diplomatic row in the neighborhood including Nepal. It has the potential of further aggravating the trust deficit already vitiating the… pic.twitter.com/dlorSZ05jn
— Baburam Bhattarai (@brb1954) May 30, 2023
भारतले हालै उद्घाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नाममा नक्सा राखिएको छ । सो नक्सामा नेपाल र पाकिस्तानका भूभागसमेत उल्लेख छ ।
नक्साभित्र नेपालका लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ ।
भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले अखण्ड भारतको धारणाले भौगोलिक अविभाजित भारतको प्रतिनिधित्व गर्ने बताउँदै आएको छ । तर, नेपाली भूमिलाई अखण्ड भारतको नक्सामा अंकित गरिएको विषयमा नेपालको कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।
कूटनीतिज्ञले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा भएको यो क्रियाकलापबारे प्रधानमन्त्रीले भारतीय पक्षबाट यसको स्पष्टीकरण माग्नुपर्ने जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।