काठमाडौं महानगरपालिकामा मेयर बालेन शाह (बालेन) ले सांसद विकास कोष फेरि ब्यूँतिने भएपछि सांसदलाई कटाक्ष गरेका छन् । उनले फेरि सांसद वडाध्यक्षको तहमा झरेको भन्दै कटाक्ष गरेका हुन् ।
बालेनले वडाध्यक्षकै काम गर्ने भए किन सांसद बनेको भन्दै प्रश्नसमेत गरेका छन् । ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो । वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्यूहरू ?,’ मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् ।
दुई वर्षअघि खारेज गरिएको सांसद विकास कोष भनेर चिनिने पूर्वाधार विकास साझेदारी कार्यक्रम आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत पुनः ल्याएको हो ।
यो कार्यक्रम संघीयताको मर्मविपरीत हुनुका साथै बजेटको दुरुपयोग भएको आलोचनापछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत खारेज गरेका थिए । तर, सांसदको दबाबपछि फेरि सरकारले यो कार्यक्रम ल्याएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गरिएको छ ।
‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिमार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु,’ अर्थमन्त्री महतले भने । यस कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।