भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन् । उनले प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ २० गतेसम्म हुने बताए । 

प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई लिएर मंगलबार मन्त्री साउदले भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । उनले भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकाश, आर्थिक सहयोग लगायतका मुद्दाहरूलाई अगाडि बढाउने प्रतिबद्धता बताए । उनले भ्रमणमा नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्ने कुरालाई मुख्य जोड दिइने बताएका छन् । त्यस्तै भारतीय भूमि प्रयोग गरी बंगलादेशमा ऊर्जा व्यापार गर्ने कुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय रहेको उनले बताए ।

‘हामीले यो भ्रमणमा ट्रेड, ट्रान्जिट,कनेक्टिभिटी, इन्फास्ट्रक्चर डेभलपमेण्ट, फाइनान्सियल कोप्रेशन, जस्ता मुद्दाहरूलाई अगाडि बढाउनेछौँ । यसको बारेमा दुई देशका बीचमा, दुई देशको सरकारका बीचमा वार्ताबाट केही ठोस निष्कर्षमा पुग्ने तयारी भइरहेको छ, यसमै दुई वटै देशका अधिकारीहरू क्रियाशील रही आएका छन्’, उनले भने, हाम्रो भ्रमणको मुख्य कुरा नेपालमा पावर उत्पादन गर्ने कुरा जलविद्युत आयोजनामा भारतीय लगानी सुनिश्चित गर्ने कुरा, एलोसीबाट ट्रान्समिसन लाइनहरू बनाउने कुरा र नेपाल—भारतका बीचमा लामो समय पावर पर्चेज डिल गर्ने कुरा र भारतीय ग्रिट र ट्रान्समिसनलाई प्रयोग गरेर बंगलादेशमा विद्युत् निर्यात गर्नुपर्ने जस्ता महत्त्वपूर्ण कुरा यसमा सामेल छन् । यसलाई हामी वार्ता, छलफलको माध्यमबाट सहमति र सम्झौतामा टुंगोमा पुग्ने प्रयत्नमा छौँ ।’


मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताहरूको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरूको पूर्ण कार्यान्वयन हुने ग्यारेन्टी बताए । उनले कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने भन्दै भारतसँग बढाइएका एजेन्डाहरूको पूर्ण कार्यान्वयन हुने अपेक्षा रहेको बताए । उनले भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआरलाई पनि अघि बढाउन प्रस्ताव राख्ने बताए । 

उनले भने, ‘कमिटमेण्ट आउने, कार्यान्वयनको पक्ष कमजोर हुने पक्ष कुनै न कुनै रूपमा दुवै पक्षबाट यस्तो भइरहेको छ भन्ने अनुभव छ । हामी छलफलको सन्दर्भमा, उच्चस्तरीय छलफलको सन्दर्भमा कुनै सहमतिमा पुगेपछि त्यसको कार्यान्वयनलाई पनि हामीले सुनिश्चित गरेर लैजानुपर्छ । जुन एजेण्डा हामी अगाडि बढाउँदै छौँ, ती एजेण्डाको कार्यान्वयन हुनेछ ।’ 

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदारीलाई हटाउने बारेमा पनि छलफल हुने बताएका छन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्र मन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल जाने भएका छन्। 



भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।  



  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार ११:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया