काठमाडौं– ‘बाइबाइ बाबा, बाइबाइ ।’
अरु दिनमा हुन्थ्यो भने एउटा सात वर्षीया यी छोरीले भनेको यो बाइबाइ केही घन्टाका लागि हुन्थ्यो । आफ्ना बाबु अफिस जान निस्कँदा सायद ती बालिका सधैं यसो भन्थिन् ।
तर, यो शुक्रबार उनले भनेको बाइबाइ सदाका लागि थियो, उनका बाबा अब फर्किएर नआउने भएका थिए ।
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आफ्ना बाबुलाई ती बालिका बाइबाइ भन्न आएकी थिइन्, टुँडिखेलमा ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शवसहित अन्तिम श्रद्धान्जलीका लागि राखिएको शवहरुलाई श्रद्धान्जली दिँदा टुँडिखेलको माहोल निःशब्द थियो, टुँडिखेल शोकमा डुबेको थियो ।
त्यहाँ पुग्ने जो कोहीलाई एउटी आमाले गरेको बाइबाइ होस् या एउटा छोराले गरेको बाइबाइ किन नहोस्, आँखा पुछ्न बाध्य बनाउँथ्यो ।
दुर्घटनामा ज्यान गुमाएका एक व्यक्तिकी आमा आफ्नो छोराको मुस्कान अन्तिम पटक हेर्ने अभिलासामा थिइन् । छोराको शव नजिकै राखिएको ठाउँमा पुगेर उनले भनिन्, ‘मेरो बाबु, हासिरहेको छ, बाबु हासिरहेको छ ।’
सँगै अगाडिका यी दृश्यले शुक्रबार टुँडिखेललाई जति भावुक बनायो, त्यसलाई अझ निरस बनाएको थियो, पाश्र्वमा बजेको संगीतले ।
मन्त्री अधिकारीलाई अन्तिम पटक बिदाइ गर्न टुँडिखेलमा उनीसँग यसअघि कहिल्यै चिनजान नभएका व्यक्तिहरु पनि आएका थिए ।
तीनैमध्ये एक हुन्, देव गुरुङ । तनहुँ घर भएका गुरुङले जब मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेको सुने, उनको मनमा चिसो पसिहाल्यो ।
‘उहाँसँग मेरो व्यक्तिगत सम्बन्ध त थिएन, व्यक्तिगत चिनजान त भएन तर उहाँलाई मैले निकै पहिलेदेखि नै फलो गरेँ,’ गुरुङले भने, ‘एउटा भिजन भएको मान्छे गुमाउनु पर्दा देशलाई ठूलो क्षति पुगेको छ ।’
गुरुङजस्तै मन्त्री अधिकारीसँग त्यस्तो व्यक्तिगत सम्बन्ध नभएका गोकर्ण न्यौपाने पनि नुवाकोटबाट दिवंगत अधिकारी र अन्यलाई श्रद्धान्जली दिन काठमाडौं आए ।
१३ वर्षअघि एकपटक भेटेका थिए, न्यौपानेले अधिकारीलाई । ‘कर्मठ, जुझारु र देशलाई केही गरौँ भन्ने नेता हुनुहुन्थ्यो उहाँ,’ न्यौपानेले अधिकारीलाई भने, ‘उहाँको मृत्युले देशलाई निकै ठूलो असर पुगेको छ ।’
त्यति बेला भेट्दा न्यौपानेको मनमा आशाको सन्चार भरिदिएका थिए, अधिकारीले । ‘देश परिवर्तनको संघारमा थियो,’ उनले सम्झिए, ‘उहाँले निकै ठूलो आशा देखाउनु भएको थियो, त्यही अनुसार हामी अगाडि बढेका थियौँ । आज उहाँलाई गुमाउनु ठूलो क्षति हो ।’
नेपाल एयरलाइन्समा कार्यरत जमुना नेपाल पनि मन्त्री अधिकारीलाई गुमाउनु ठूलो क्षति भएको बताउँछिन् । ‘दशैंमा विमानस्थलमा भेट भएको थियो,’ उनले सम्झिइन्, ‘हाँसेर ह्याप्पी दशैं भन्नु भएको थियो । आज उहाँलाई गुमाउनु पर्दा देशलाई ठूलो घाटा भएको छ ।’
जमुनाले त्यसपछि अधिकारीलाई अर्को पटक त भेट्न पाइनन् तर उनको काममा पनि अधिकारीको भिजनको कार्यान्वयनको प्रभाव पथ्र्यो । ‘त्यो सकारात्मक नै थियो,’ उनले भनिन्, ‘आज देशलाई नै क्षति पुगेको छ ।’
नेपाल एयरलाइन्समा नै कार्यरत सुनिल कुमार श्रेष्ठचाहिँ मन्त्री अधिकारीलाई नेताभन्दा पनि बढी लेखक र विकास प्रेमी व्यक्ति भन्न रुचाउँछन् ।
‘उहाँको समृद्ध नेपाल पुस्तक पढेपछि उहाँबाट म निकै प्रभावित भएको थिएँ,’ उनी भन्छन्, ‘उहाँलाई प्रत्यक्ष त भेट्न सकिनँ तर देशले एक शालिन तथा बौद्धिक व्यक्ति गुमाएको छ, यसले निराश बनाउने नै भयो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।