बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्नका लागि बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदले धारणा र संशोधन प्रस्ताव राख्ने बागमती प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ ।
संसद् सचिवालयले मंगलबार साँझसम्म संशोधन प्रस्ताव हाल्न समय उपलब्ध गराएको थियो । उक्त संशोधन प्रस्तावमाथि पनि संसद् बैठकमा छलफल गरिने सचिवालयले जनाएको छ ।
प्रदेशसभा बैठक बस्नुअघि बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ । कार्य व्यवस्था बैठकले सदनको कार्यसूची निर्धारण गर्नेछ । कार्य व्यवस्था बैठकले नीति तथा कार्यक्रमको प्रकृति र प्रक्रिया निर्धारण गर्नेछ भने दलीय हैसियतमा छलफलका लागि सांसदको समय तोक्नेछ ।
प्रदेश सभाको गत १४ जेठमा बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरेका थिए । उक्त बैठकमा पेस भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।