कैलालीको टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीले आफू फेरि चुनाव लडेर जनप्रतिनिधि बन्ने दाबी गरेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका उनले धनगढीमा कैदीबन्दीलाई भेटेपछि पत्रकारसँग संक्षेपमा कुरा गर्दै २०८४ मा हुने आमनिर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् ।
जन्मकैदको सजायबाट आममाफी पाए पनि जनप्रतिनिधि बन्न कानुनी बन्देज छ नि ? सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘कसले भन्यो, २०८४ को निर्वाचनमा लड्ने हो । जित्न्या हो ।’
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षकको पत्नीले चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दिएकी थिइन् । सो विषयमा प्रतिक्रिया दिँदै रेशमले अदालतले गर्ने जुुनसुकै फैसलाको सम्मान गर्ने प्रतिक्रिया दिए ।
‘यो देशको नागरिक भएको नाताले संविधान र कानुनको पूर्ण सम्मान गर्छु । हिजो पनि कानुनको पूर्ण सम्मान गरेर काराबास जीवन व्यतीत गरेको हुँ’, चौधरीले भने, ‘लोकतन्त्रमा संविधानले सबैलाई स्वतन्त्रताको अधिकार दिएको छ । चित्त दुःखेको विषयमा जाने, गुनासो गर्ने हक सबैलाई छ । त्यहीअनुसार उहाँहरु पनि जानुभएको होला । न्यायालयले गर्ने जुनसुकै फैसलाको पनि सम्मान गर्छु ।’
चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालक र प्रहरीका परिवारले न्याय पाउनुपर्ने र त्यसका लागि आफूले पनि सहयोग गर्ने दाबी गरे । टीकापुर घटनाको वास्तविकता अर्कै भए पनि कथा अर्कै बनाइएको चौधरीले टिप्पणी छ । ‘घटनाको कथा अर्कै थियो, तर पटकथा लेखियो र फिल्म बनाइयो,’ उनले भने ।
०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । उक्त घटनामा दोषी ठहर भई जन्मकैदको भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।