logo-img

हाम्रै भान्सामा यसरी उत्पादन भइरहेका छन् ‘जंकफुड’

धनगढीस्थित क्याम्पसरोड बस्ने रमिला जैशी आफ्नी चार वर्षीया छोरीको स्वास्थ्यलाई लिएर हरसमय चिन्तामा रहन्छिन् । छोरी अनिशाको बढ्दो उमेरसँगै बजारमा सजिलै उपलब्ध हुने चाउचाउ, बिस्कुट, चकलेटजस्ता खानेकुराबाट उनी आजित भइसकेकी छन् ।

रमिलालाई छोरी १–२ वर्षको हुँदा त खासै पिर थिएन । छोरी सानै थिइन्, धेरै कुरा जान्ने–बुझ्ने भइसकेकी थिइन् । रमिला छोरीलाई खुसी पार्न कहिलेकाहीँ बजारमा सजिलै पाइने चकलेट, चाउचाउ, बिस्कुट किनेर दिन्थिन् । पहिले कहिलेकाहीँ मात्र चकलेट, बिस्कुट खाने छोरीले हिजोआज जिद्दी गरेर दैनिक चाउचाउ, बिस्कुट खान थालेपछि  रमिलालाई ‘जंक फुड’ टाउको दुखाइको विषय बनेको हो । 



अनिशा अहिले विद्यालय जान थालेकी छिन् । विद्यालयमा लैजाने टिफिनमा बिस्कुट वा चाउचाउ भएन भने अनिशाले टिफिन नै नखाई घर फर्काउने गरेको बताउँछिन्, रमिला । उनी भन्छिन्, ‘पहिले त सानै छ छोरी, चकलेट, बिस्कुट दिँदा के नै हुन्छ जस्तो लाग्थ्यो । तर, हिजोआज दिनकै बाहिरको खानेकुरा खोज्छे । भोक लाग्दा ‘मामु, भोक लाग्यो, खानेकुरा खाने’ भन्छे, घरमै पकाएको खानेकुरा दिँदा खानै मान्दिनँ । उसका लागि खानेकुरा भनेकै चाउचाउ, बिस्कुट, कुरमुरे हो ।’

रमिलाले हिजोआज छोरी अनिशाको बजारमा पाइने खानेकुराको लतलाई कसरी छुटाउने भन्दै साथीभाइसँग सल्लाह माग्ने गरेकी छन् । 

यो त एक प्रतिनिधि घटना मात्र हो । हिजोआज हामीले हाम्रो घर, घर–छिमेकमा हेर्यौं भने छिटो, छरिटो, सजिलो र जिब्रोलाई स्वादिलो लाग्ने खानेकुरालाई बढी महत्व दिएको पाउँछौँ । मुखै रसाउने आकर्षक विज्ञापन, सहज प्याकेजिङ र नौलो स्वादले जो–कोहीलाई तानेको पाइन्छ ।

साथीभाइसँगको जमघटमा पनि के खाने भन्दा धेरैले मःम, चाउमिन, चाउचाउ, पिज्जा अर्डर गर्छन् । बजारमा पाइने अधिकांश खानेकुरा मैदाबाट नै बनेका हुन्छन् । तर, जिब्रोका लागि स्वादिष्ट लाग्ने सबै खानेकुरा स्वास्थ्यका दृष्टिकोणले लाभदायक छन् त ?



पोषणसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल ‘न्युट्रिसन’मा प्रकाशित रिर्पोटका अनुसार नेपालका बालबालिकामा पोषण नपुगेर होचा हुँदै गएका छन् । काठमाडौं उपत्यकाभित्र १२ देखि २३ महिनाका सात सय ४५ केटाकेटीमा गरिएको अध्ययनले यस्तो तथ्यांक देखाएको हो । दुई वर्षभन्दा कम उमेरका ती केटाकेटीले आफूलाई चाहिने कुल क्यालोरीमध्ये एकचौथाई हिस्सा ‘जंक फुड’बाट लिइरहेको अध्ययनको निष्कर्ष छ ।

बालबालिकालाई बिस्कुट, कुरकुरे, तयारी चाउचाउ र गुलियो मिसाइएका पेयपदार्थ बढी खुवाउँदा हुर्काइमै असर परेको अध्ययनकर्ताहरूले बताएका छन् ।



नेपालजस्ता कम आय भएका मुलुकमा यस्ता खानेकुराले पारेको प्रभाव जाँच्न काठमाडौंमा यो अध्ययन गरिएको हो । ‘जंक फुड’ले विश्वव्यापी रूपमा पारेको प्रभावबारे विगतमा पनि यस्ता थुप्रै अध्ययन भएका छन् । यसले केटाकेटी मात्र होइन, किशोरकिशोरी र वयस्कहरूको स्वास्थ्यमासमेत समस्या उत्पन्न भइरहेको विभिन्न अध्ययनले देखाएका छन् ।

घरकै खानेकुरा ‘जंक फुड’ बन्दै

जंक फुडका कारणले शरीरको तौल बढ्ने, आलस्य बढ्ने, फुर्ती हराउने, खुट्टा दुख्नेजस्ता समस्या सुरु हुनुका साथै तौल बढेपछि रक्तचाप हुने, मुटु, मस्तिष्क, मिर्गौलामा पनि समस्या निम्तिने स्वास्थ्यविज्ञहरूको भनाइ छ ।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका अनुसार शरीरलाई आवश्यक पर्ने प्रोटिन, भिटामिन, खनिज पदार्थ नभएको वा अति कम भएको, तर चिनी, चिल्लो पदार्थजस्ता क्यालोरीयुक्त तत्वको मात्रा अत्यधिक भएको खाद्य वस्तुलाई जंक फुड भनिन्छ ।

‘नेपाली भाषामा जंक फुड भनेको ‘पत्रु खाना’ हो । काम नलाग्ने कुरालाई सामान्यतया पत्रु भनिने गरिन्छ । बजारमा सजिलै उपलब्ध हुने तयारी खानेकुरालाई ‘जंक फुड’ भनिन्छ,’ डा. उप्रेती भन्छिन्, ‘हाम्रो भान्सामा पनि हिजोआज खानेकुरा जंक फुड बनिरहेका छन् ।

आलु राम्रो खानेकुरा हो । यसलाई उसिनेर, तरकारी बनाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ । तर, त्यही आलुलाई तताएको तेलमा तारेर खाँदा जंक फुड बन्छ ।’ जंक फुडको एउटा नकारात्मक पक्ष भनेकै त्यसमा प्रयोग हुने तेल हो । बाँकी रहेको तेललाई बारम्बार तताएर खानेकुरा पकाउँदा, त्यो घरकै खाना भए पनि ‘जंक फुड’ हुने डा. उप्रेती बताउँछिन् ।

‘अहिले बालबालिकाले चाउचाउ, चिजबल, केकजस्ता जंक फुड खाँदा गुलियो पदार्थले दाँतमा ब्याक्टेरिया र एसिड उत्पादन गर्न मद्दत गर्छ । जसले दाँतको इनामेललाई नस्ट गर्न सघाउँछ,’ डा. उप्रेतीले भनिन् । 

उनका अनुसार जंक फुडमा स्वाद बढाउनका लागि अत्यधिक मात्रामा चिल्लो प्रयोग गरिएको हुन्छ । चिल्लो पदार्थ बढी भएका खाना खाँदा शरीरमा बोसोको मात्रा बढ्छ । यसबाट खराब कोलस्ट्रोल बढेर रक्तसञ्चार प्रणालीमा असर गर्न सक्छ । यसबाट हृदयाघात हुने खतरासमेत बढ्छ । 

जनस्वास्थ्यविद् उप्रेती भन्छिन्, ‘शरीरमा कोलस्ट्रोल वृद्धि मुटुरोगको प्रमुख कारण मानिएको छ । साथै चिल्लोपदार्थले शरीरको पाचन प्रणालीमा पनि प्रत्यक्ष असर गर्छ । यसले एसिडिटी बढेर समस्या उत्पन्न गराउँछ । चिल्लोले शरीरको तौल, रक्तचाप, मधुमेह हुन सक्छ । बोसो बढ्दै गएमा कलेजोले पनि राम्रोसँग काम गर्न सक्दैन ।’

यस्तै दालमोट, चिप्स, भुजिया, पापड आदिमा नुनको मात्रा चाहिनेभन्दा बढी हुन्छ । शरीरमा नुनको मात्रा चाहिनेभन्दा बढी भएमा उच्च रक्तचाप हुन्छ । डा. उप्रेती भन्छिन्, ‘हामीले बजारमा किनेर खाने मैदाको रोटी, चाउमिन, स्वारी, डोनट, रङ प्रयोग गरिएका जेरीलगायत जंक खाना नै हुन् । त्यसैले अभिभावकले बालबालिकालाई माया दर्शाउँदा जंक फुड किनेर दिनेभन्दा पनि जंकफुड हानिकारक छ भन्ने जानकारी दिएर बचाउनुपर्छ ।’ 

‘चाउचाउ, चिजबल, कुरमुरेलगायतको बिगबिगी भयो भने नेपालका बालबालिकामा सानै उमेरमा मधुमेह, उच्च रक्तचापको सिकार हुने सम्भावना अत्यधिक छ,’ डा. उप्रेती सुनाउँछिन्, ‘जंक फुडको लत एकपटक लागिसकेपछि छुटाउन गाह्रो हुने भएकाले अभिभावकले समयमै सचेत हुन आवश्यक छ । यस्ता खानेकुरा शारीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक छन् ।’ सरकारले हरेक वर्ष बजेट भाषणमा विद्यालयमा जंक फुड निषेध गर्ने भने पनि व्यवहारमा भने लागू गर्न नसकेको उनले गुनासो गरिन् । 

‘सरकारले विद्यालयमा जंक फुड निषेध गर्ने भने पनि व्यवहारमा लागू भएको देखिँदैन,’ डा. उप्रेती भन्छिन्, ‘अझै पनि म कुनै विद्यालय जाँदा, त्यहाँ बालबालिकाले जंक फुड खाइरहेको देख्छु । त्यसैले यसको नियन्त्रणका लागि अभिभावक, शिक्षकले पनि कडा रूपमा प्रस्तुत हुन जरुरी छ ।’ सरकारले पनि जनस्तरमै जनचेतना फैलाउने तवरले काम गर्नुपर्ने उनी बताउँछिन् । 
 

  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया