राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शान्त विद्रोहका चरणबद्ध कार्यक्रम सुरु गर्न भारतबाट रास्वपाका सांसदहरूलाई अपिल गरेका छन् ।
आफू पूर्णतः गैरराजनीतिक र नितान्त निजी कामले मुम्बई रहेकाे जानकारी गराउँदै उनले जनताले रतिभर दुःख नपाउने गरी विद्रोहका चरणबद्ध कार्यक्रम सुरु गर्न आग्रह गरेका हुन् ।
रास्वपालाई जनताले ठूलो आशा भरोसा बोकेर संसदमा पठाएकाे स्मरण गराउँदै उनले संसदीय भूमिकालाई जागिरका रूपमा नभई विद्रोहका रूपमा प्रयाेग गर्न आग्रह गरेका छन् ।
जनताको बाहेक कसैको आवाज सुन्न नपर्ने र मुलुकको हितबाहेक कसैको हितमा ध्यान दिन नपर्ने उल्लेख गर्दै उनले तीनवटा कुरा स्मरण गराएका छन् । उनले 'हामी किन राजनीतिमा आयौँ', हामीलाई नेपाली जनताले किन भोट दिए र ८४ सालमा जनता हामीलाई कहाँ हेर्न चाहन्छन्' भन्ने स्मरण गर्न आग्रह गरेका छन् ।
योग्य हुँदाहुँदै पनि अनागरिक हुन बाध्य पारिएका कैयौँ पीडित नेपालीले आफ्नो नागरिकताको अधिकार प्राप्त गर्नुपर्छ भन्ने कुरामा कहिल्यै, कहीँ विमति नरहेकाे, तर नेपाली महिलाहरुलाई 'पतिको पहिचान नखुलेको' लेख्नुपर्ने अपमानजनक प्रावधानको विपक्षमा रहेकाे उनले बताएका छन् ।
उनले आफ्नाे पार्टीकाे विज्ञप्ति राम्ररी र पूरै पढ्ने प्रयास गरिदिन आमशुभेच्छुकमा आग्रह पनि गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।