४ अर्ब लगानीको सेती जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

कास्कीमा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । 

आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ । २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो । आयोजनाको  सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।     

उनका अनुसार ढिलोमा पनि आगामी मङ्सिरभित्रमा आयोजना सम्पन्न भएर व्यावसायिकरूपमा विद्युत् उत्पादन हुनेछ । स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट नै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए ।  

‘जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । १ हजार ५ सयजना प्रवद्र्धकको लगानी छ, सुरुआती लागत बढेको छैन । पारदर्शीरूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ,’ उनले भने ।

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४ सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १ सय ८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव ५ मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।

कोरोना कहरकाबीच सुरु भएको आयोजनामा सुरुआती चरणमा काममा असर पुगेकाले एक वर्ष म्याद थप भएको अध्यक्ष पोखरेलले बताए । आयोजनाको म्याद वि.सं २०८१ साउनसम्म रहेको छ । ‘कोरोनाले काममा असर गर्दा एक वर्ष म्याद थप गर्नुपरेको हो । स्थानीय सरकार, स्थानीयवासी तथा सबैको साथ सहयोगले आयोजना सम्पन्न हुने चरणमा छ । अबको पाँच महिनाभित्रमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुनेछ,’ उनले भने ।



सेती जलविद्युत् आयोजनामा ४ अर्ब रुपैयाँ लगानी रहेको छ । यसमा ३ अर्ब ५० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिने आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर उपेन्द्र घिमिरेले हेडबक्र्सको काम सकिएर पानी पठाउन सुरु भएको बताए । त्यसैगरी पाइपलाइनतर्फ १ सय ५० मिटर जति मात्र काम बाँकी छ । ‘पावर हाउसको सिभिलको काम सकिएको । स्विचयार्डको काम भइरहेको छ र इलेक्ट्रोमेकानिकलको केही सामान आउन बाँकी रहेको छ’, घिमिरेले भने, ‘सबै क्षेत्रतर्फ गर्नुपर्ने मुख्य काम सकिएको छ । केही सानातिना काम पूरा गर्नुपर्नेछ ।’



सेती आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिनेछ । विद्युतगृहबाट सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भइरहेको  छ । प्रसारण लाइमा १३ वटा टावर रहनेमा हालसम्म ११ वटामा काम भइरहेको इन्जिनियर घिमिरेले बताए ।   

आयोजनाको सञ्चालकसमेत रहेका सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले स्थानीय जनताको सहयोगबाट नै आयोजना सम्पन्न हुने चरणमा पुगेको बताए । निर्माणका क्रममा आउने सानातिना समस्या छलफलका माध्यमबाट समाधान गर्दै आयोजनाबाट निकट भविष्यमा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उनले उल्लेख गरे । आयोजनाबाट देशको ऊर्जा क्षेत्रको विकासमा योगदान पुग्ने गुरुङको विश्वास छ । रासस 

  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार ७:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया